भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सेवारो है सेवारो / कृष्ण प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

समय तिम्रो कित्तामा फर्केको ठान्दैमा-
वा तिमीले एकलौटी इच्छा गर्यौ भन्दैमा,
भाषाको कुराले-
धर्मको कुराले-
र जातको कुराले –
तिमी कदापि विभाजित हुन सक्दैनौ नेम्वाङ दाई !
मैले पनि तिमीसँग-
रात-रातभरि च्याब्रुङ नाचेकै हो ।
हामीले साझा सम्झेका-
संगिनी र रत्यौलीमा –
हाम्रो संसार चलेकै थियो,
तर कहाँबाट आयो यो रंगभेदको कुरा ?
कताबाट आयो यो आदि र अनादिका कुरा ?
कसरी आयो यो भूगोल विभाजनको कुरा ?
सत्य कुरालाई किन लुकाउनु र हामीले,
समुसुद्धिनले युद्धताका उपहार दिएको-
हाम्रो मोही र गुन्द्रुकलाई-
मेरा पुर्खाले तिम्रो भाते जाँडसँग साटेकै हुन् ।
एक पाथी कोदोको रक्सीमा-
एक कित्ता किपट हत्याएको कुरा लिएर-
अथवा शकुनी दाउमा जुवा खेलेर,
सिंगै थुम्को हत्याएको कुरा साँधेर –
किन सधै अत्तो थापिरहन्छौ चाम्लिङ दाइ ?
धर्ती लुटेर सम्पन्न हुन्छु भन्नेहरु,
अन्नतः आफै धर्तीबाट लुटिएका छन् ।
तिमीले कुल्चेको माटो र मेरा पुर्खाले टेकेको भूमि एउटै हो ।
सदियौदेखि म पनि सुकुम्वासी नै छु ।
पहिले मुगल राजाले डसे –
अलि पछि आएर –
गोरखा र लिम्बूवानका सामान्तबाट उठिबास हुँदै ,
पहाडबाट समेत खेदिएर-
मुगलानबाट पनि लखेटिंदै-
पुनः म शरणार्थी भएर –
फेरि, यसै देशमा फर्किएको छु ।
यता फर्कनुमा मलाई,
मेरा पुर्खाको माटोले तान्यो,
बाजेले पुजेका,
देवी देउरालीका साइनोले तान्यो,
जोड्दै जाने हो भने-
धेरै साइनाहरु छन् हाम्रा तिमीसँग-
भावनाको साइनो कहिलेकाही,
रगतको भन्दा पनि गाढा हुदो रहेद्धछ मादेन दाई !
विर्सेका छैनौ भने,
तिम्रा बाका मलामीलाई-
हामीले खुवाएको दही, चिउराको साइनो छ हाम्रो ।
मेरा बालाई बैतरनी तराउन,
तिम्रा बाले सित्तैमा दिएको बाछाको सम्बन्ध छ हाम्रो ।
बद्मासी आ-आफना होलान्-
स्यावासी आ-आफ्ना होलान्-
सात सालमा तिम्रा सगोत्रीले उठिबास लगाउंदा पनि,
मैले कहिल्यै तिमीलाई दुखेसो गरिन,
अलि पछि नाक र आँखाको विभाजन कोरिएपनि-
मैले कहिल्यै ननिको ठानिन ।
मात्रै मन बुझाउंन-
मात्र चित्त बाँधिरहन-
म पनि सधै कहा सक्छु र श्रवण भाई १
आखिर हाम्रा आमाहरु मिलेर,
रत्यौली खेलेको पनि साँचो हो ।
संक्रान्ति र मदन मेलामा,
धान नाचेको पनि साँचो हो ।
एक्कासी अहिले आएर पराय अरु कसैले ,
विद्यटनको खेल खेल्छ भन्ने लागेकै थिएन ।
तिमी-हामीलाई जुधाएर,
तमासा हेर्छ भन्ने सोचेकै थिएन ।
सोच है सोच केरुङ भाई !
पानी बगे पछि फेरि फर्कदैन ।
मात्र सम्झना बनेर –
बगर रोइरहन्छ किनारमा ।
नराम्रोलाई विर्सन –
राम्रोलाई सम्झन निको लागेर नै,
मैले हाम्रा धेरै कुराहरु सम्झे ।
पखालाले सताएकै बेला पनि,
कान्ला बिगारेर हाम्रा बाहरुले,
संगै देउसी खेलेको सम्झे ।
देउसी कै भेटी उठाएर,
हामी पढ्ने स्कूलको छानो छाएको कुरा सम्झे ।
खाँडो जगाउन खप्पिस तिम्रा बा,
अनि सिलोक फट्कार्न सिपालु मेरा बा ,
संगसंगै जन्ती गएको सम्झे ।
मन्त्र फुकेर सिकारी मन्साएको साइनो होस् ।
वा दुइ इन्ची खुकुरी भसाउंदा समेत,
ख्याल-ख्यालै ठानेर-
दुइ गिलास रक्सीमै मिलेको साइनो होस्-
ज्यूँका त्यूँ छ अहिले पनि ।
कहाँ मेटिएको छ र हाम्रो साइनो !
अहिले आएर तिमीले,
विदेश किन्यौ भन्दैमा,
हाम्रो सम्बन्धलाई म कसरी विट मार्न सक्छु र थेवे दाई –
लुकाउने कुरा नै के पो बाँकी छ र ?
नाङ्गो मान्छेसँग बचेको नै के पो हुन्छ र ?
हामी सबैले मान्दै आएको,
हलेसी महादेव र पाथीभरा देवीलाई,
तिमी हामी सबैले मानेकै हौं ।
तिम्रा उघौलि, उभौली र बुढीबजु ,
अझै पनि मैले मानेकै छु ।
सिमेभूमे र सगुनेले पनि –
सुब्बे फाब्बे नै भएको छ ।
अहिले आएर सानो कुरामा,
किन रडाको मच्चाउछौ देवान भाई ?
मन्त्र साट्नु चानचुने कुरा हुनै सक्दैन,
देउता साट्नु सानो कुरा हुँदै होइन,
हामीले आपसमा देउता पनि साटेको छौं ।
तिमीले बिर्सेर ज्ञान –
तिमीले सम्झन छोडेको तिम्रै भाषा,
समयको जोर विजोरमा,
तिमीले भुल्नै लागेको हाम्रो साइनो,
एउटै मुन्धुमले ठिक पार्न सकिन्छ अव ।
जोखाना हेरिरहन जरुरी नै छैन अव ।
आउ म मन्त्र फुकिदिन्छु तिम्रो कमजोर आँखालाई ।
मसंग तिम्रो हजुरबाले मर्नु एकदिन अघि सिकाएको,
तिम्रो भाषाको फूलो झार्ने शक्तिशाली मन्त्र छ ।
—-
सेवारो है मादेन भाइ सेवारो !
सेवारो है नेम्बाङ दाइ सेवारो !!
—–

  • लिम्बू भाषामा नमस्कार वा अभिवादन जनाउँदा भनिने शब्द ।