Last modified on 25 अक्टूबर 2017, at 11:55

सौन्दर्य-विपर्यय / ओकिउयामा ग्वाइन


त्यो दिन वृक्षशाखामा
मर्मरित पत्रपल्लवमा
वननिकुञ्जभित्र
विभा आई बसेकी थिई लुकेर
निराश्रया शवरी आलोक शेष
तर लागिरहेकी थिई सरसी नीर ।

तर जुन जो आएर
ढाकिदियो धरा ज्योत्नाले
कता पो रात्रि
लुकेर बसिछ भनेर ।

त्यो दिन-दिनको आरीसबाट म पनि अव्याहति पाउन
बाहिर निक्लें सान्ध्यभ्रमण

सौम्य शाद्य्मलीवनका, शीतल तीर ।
वनमाझ घुम्दा-घुम्दै विजन
पुगेर त्यो तपोमग्ना तपती<ref>तपोमग्ना तपती-ध्यानस्थ, सूर्यकन्या ; छाया ध्यानस्थ झैं गम्भीर छायाले आवृत्त भएको</ref> सरसीतीर
पसेको थिएँ, लतागुल्म-परिवेष्टत
एक नवनिकुञ्ज आड

ढलिरहेको थिएँ
अडेस लगाई
पार्श्वशयन-मुद्रामा,
एकछिनपछि अलस तन्द्राले
मलाई ठेलेर
लगी राखिदियो शयन-शिविरमा ।

जान्दिनँ कहिले
कु-कु-हा उज्याला-अँध्याराका
सरी गए सान्ध्यगगनबाट
गहन रात्रिको निविड निसा<ref>निसा-नसा मात ।</ref>
मेरो सपनामा चढेर कसरी किन
कस्तो जो भएर, मेरो मनमाझ
कामना जगायो
सपनाबीच
निविड वनको सरसी-सैकत
ज्योत्स्ना रात ।

हठात् तब
के पी भयो
मेरो निद्रा टुट्यो

शुष्क तरुलता पत्रहरुमाथि
कसैको पदचापले निकुञ्ज सन्निकट ;

देखिनँ त्यही क्षण को थियो त्यो
मेरो निकुञ्जपछाडि
छाया आवरण-

तन्द्राच्छन्न नयन, खोलेर खालि
हेरें जोत्स्नास्नाता
सरसीतिर,-

पूर्ण चन्द्र, पुर्णिमा रात
चढेछ धेरै माथि
रातको सिउर

विमल शुभ्रता फेलेको थियो
वनभूमि अनि, धरणी आकाश ;

त्यति बेला, मेरो
पूर्ण चेतना फरेकेको थियो
पूर्णिमा-पुर
देह ‘भितर‘
सदेश चेतना मेरो
दृष्टि फेरेर

देख्यो अहा ! – यो के दृष्य
सरसीको छाती अचानक छेडेर
जागिछ मानौं कुमुदिनी एक
कुमुदको विन्ती सुनेर ;

मन-मनमा भनें मनमा ठानें
हो कि यो,
अशरीरी कुनै निरुपमा
“तन्वी शखर-दशना“
षोडशि कन्या ।

आयो ऊ सुस्तरी, सरसीदेखि सरसीतीर
मानौं, जुनेलीको तरणी, बहाउँदै चन्द्रमा,
बङ्किमभङ्गिमा हंसग्रीवा-
पोटिला स्तनभारले
निहुरी सलज्जा
जनपूर्ण मृण्मय कलश
बोकेर कारणमा ; -

आउँछिन् उनी
कसको अभिसार
रात्रिको विरल क्षण
चन्द्र-किरणका निर्मल निरमा नुहाइसकेर
जलभरी कलश काखमा बोकेर
पक्वबिम्ब दुईदेखि
वक्ष-अञ्चल खसाई तल ।

अवाक् म !
निकुञ्जको छेउबाट
चियाउँदै हेर्दछु बसी
आउँछिन् कि उनी, मेरो नै लागि
यी अपरुपा रातकी रति !

सोच्दै थिएँ म
स्वप्न मेरो सार्थक
हुन्छ होला अब
सपनामा पाएको दुरन्त कामना
विपनाका महीतल ।
हठात् तब
मेरो निकुञ्जको पछाडिदेखि
छायातलबाट

क्षुधातुर शिकारी पशु झैं
वृषभ पुरुष एक
फाल हाली आएर
दुई हात अगाडि पसारी
थाल्यो भन्न :-
“आऊ न आऊ, युवती रमणी
रमणहेतु
मेरो कामाग्नि आलिङ्गनमाझ ।“

चकित भएँ, मेले सुनें
त्रासमय चीत्कारसह
जल-पूर्ण माटोको कलश
भत्केको ध्वनि, माटाउपर
फन्दामा परी कामिनी
कामुक-बाहुमाश ।

ठीक त्यही क्षण
लुकिहाल्यो चन्द्र, (मानौं लज्जावश)
मेघका आड
झर्यो खसी, एउटा उल्कातारा
अग्निमय धर्को कोरी
उत्तर आकाश ।

शब्दार्थ
<references/>