सौराहा* ! यो कुनै कविता होइन / निमेष निखिल
चुरेका पृष्ठभूमिमा थपक्क बसेका काला सेता बादल
हाम्रै पीडामिश्रति सुस्केरा पो हुन् कि ?
बगरभरि भोक भएर सेताम्मे फुलेको काँस
किन हाँस्छ यसरी हाम्रो अभावमा ?
पूर्ण यौवनमा फक्रिएको सौराहाको चर्को घामलाई
छेकेर एउटा बकाइनोको रुखले एक्लै बसिरहँदा
यो मैले आफैलाई सोधेको प्रश्न मात्र हो
सौराहा ! यो कुनै कविता होइन ।
छेवैको विदेशीले गिलासमा खन्याएको रङ्गीन तरल
किन आफ्नै परेलाको डिलबाट ओभरफ्लो भएको
नुनिलो पानी देख्छु म ?
उसले भर्खरै खिचेर अपलोड गरेको हाम्रै काँसघारी-भोक हेरेर
किन हर्षातिरेक हुन्छे
उसकी सुदूर देशकी प्रेमिका फेसबुकको भित्तामा ?
आखिर कहिलेसम्म यसै गरी भूमण्डलीकृत हुन्छ
हाम्रो गरिबीको सौर्न्दर्य ?
यो पनि मैले आफैलाई सोधेको प्रश्न मात्रै हो
सौराहा ! यो कुनै कविता होइन ।
घरिघरि लाग्छ- आँखैअघिको रापती प्रवाहसँगै बग्दै छ देश
र बग्दै छु म आफै पनि-
पश्चिम पश्चिम हुँदै दक्षिणतिर निरन्तर
अस्तित्व सङ्कटले पटक पटक धावा बोल्दा पनि
किन बोल्दैनन् बोल्नै पर्ने हाम्रा आफन्तहरू ?
डुप्लिकेट कायर निद्राको बेहोसीबाट कहिले ब्युँझन्छन् ती ?
युगौँदेखि दुखका छाल मात्र बगाउँदै आएको यो रापती
किन एक पटक पनि बग्दैन खुसीका लहर बनेर
या फेरि विद्रोहको आगो बनेर ?
बकाइनोका ससाना पातहरूका चेप च्यातेर छिरेका
घामका केही किरणहरू मेरो शरीरभरि बेसरम जिस्किरहँदा
मैले आफैसँग सोधेको प्रश्न मात्र हो यो पनि
वास्तवमा सौराहा ! यो कुनै कविता होइन ।
(संरक्षण कविता आन्दोलन २०७०-०६-०६, चितवन सौराहामा रचित तथा वाचित)
- चितवन जिल्लास्थित चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सुन्दर पर्यटकीय नगरी ।