भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

स्थिति / नव सापकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमी गएदेखि—
सहरका बत्तीहरू धमिलिएर निभ्दै बल्ने गर्छन्,
बतासका झोक्काहरू मेरा कानमा
एउटा अस्पष्ट भाषामा के–के साउती गर्छन्
मदेखि धेरै माथि अग्लिएको आकाशको आयतनभित्र
जून अल्लरी–अल्लरी टहल्ने गर्छ;
म कल्पनामा आफ्ना दुवैहत्केलाले
तिम्रो अनुहार समाती मेरा आँखाभित्र नियाल्ने प्रयत्न गर्छु
 कि महत्तम प्रेमको भाकलको सम्झनाले तर्साउँछ,
 कहिले कतै कसैले त्यो प्रार्थना सुनिदिए
कहिले कतै कसैले त्यो वन्दना थाहा पाए
आस्था र विश्वासको तार छिन्नेछ ।

यद्यपि घामलाई साक्षी राखी खाएको खसम
जुवाडेले हारेको बाजीजस्तो हुँदै होइन
जो एक बाजी जित्न हजार बाजी हार्छ,
युद्धभूमिमा घाइते सिपाहीले पाएको
वीरताको तक्माजस्तो पनि होइन प्रिय
जुन सन्दुसभित्र बन्द रहन्छ जीवन्तसम्म ।
हो, ईश्वर एउटै छ— प्रेम एउटै छ,
 त्यो अनन्त, अमर र सत्य छ,
कि सत्यलाई हामीले स्वीकार गर्नुपर्छ,
किनभने— ईश्वर निराकार छ भन्ने जान्दाजान्दै
हामी इन्साफदेखि डराउँछौँ
फूल–प्रसाद–भेटी चढाउने गर्छौं
मृत्यु जीवन्त नहोस् भन्न खातिर
हामी ढुङ्गामा देवत्व प्राप्त गर्छौं ।
त्यसैलाई चढाएको फूल प्रेम हो
सम्भवतः हामी त्यसैमा केही पाउने गर्छौं,
सम्भवतः हामी त्यसैमा बाँच्न खोज्छौँ !!