भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

स्वभक्षणको हक / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



आफ्नो मुटु झिकेर स-साना टुक्रामा विभक्त गर्छु
अनि आफ्नै रक्तिसँग मिसाएर
रक्सीसँग खान्छु, आँशु र पसिनाको ।

खाऊँ खाऊँ लागेन, तिमीलाई
सुन्दाखेरी ?

आऊ, सँगै बसेर खाऊँ
मेरा आँखा निकालेर गुच्चा खेलौँला,
वा तिमी भन्छौ भने, टेनिस खेलौँला, यी हातहरूको ब्याट बनाएर ।
कुन टेनिस खेल्ने ?
टेबुल कि लन ?
वा गफ्फ खेल्ने ? कि क्रिकेट ?

हैन भने आऊ,
मेरो टाउकाको फुटबल खेलौँ
मेरै छातीको टुँडिखेलभरि ।

मेरा दाँत निकालेर कौडा खेलौँला
पूरै दुई सेट पुग्छन् ।
हैन भने भुटी खाउँला
कि उमालेर खाने ?
गिजालाई टुक्राटुक्रा पारेर मिसायो भने मीठो सुप बन्छ ।

यी ओठ काटेर
मुटु र कलेजोसँगै भुटौँला ।
नाकको सुल्फामा कपाल डडाएको धूवाँ गाँजाजस्तो छैन त ?

के हेरेको ?
सिद्धियो रक्सी ?
थूक मिसाइदिऊँ ?

तर के सिद्धिन्थ्यो रक्सी पनि !
त्यो पनि आँशु र पसिनाको !

म त खान थालेँ ।
स्वतन्त्रता पाएको छु मैले
आफ्नै रक्तिसँग आफ्नै पसिनाको रक्सी खाने ।

अलि वर आऊ,
सँगै बसेर मनाऔँ मेरो स्वतन्त्रोत्सव ।

ढुक्क होऊ,
तेलबेसार लिएर आउनु पर्दैन तिमीले ।
मेरै पँहेलो बोसोमा तारौँला
मेरा नाक र कानहरू ।

कुन मीठो लाग्छ तिमीलाई ?
छाला भएको कि नभएको ?
छाला बिनाको मनपर्छ भने, भन
छाला काढेर खोल बनाउन हुन्छ ।
पालैपालो ओढौँला तिमी र म ।
अपराध गर्ने बेलामा तिमी ओढ्नु
जेल जाने बेलामा म ओढौँला ।

हड्डी चपाउन सक्छौ ?
सक्छौ भने खाऊ, देशजस्तै
सक्दैनौ भने पनि पीर नगर
हड्डी र देश रहेकै राम्रो ।
छाला पलाए, फेरि खान हुन्छ ।
 
मासुको कुरो चाहिँ नगर्नु नि
यहाँ केवल नागरिक भएर बाँच्नेहरूमा
हाड र छाला अनि अलिकति रगत मात्र रहेको हुन्छ ।

छक्क परेका हौ कि अभिनय गर्दैछौ ?
किन टोलाएको ?
आफूले नखाए तिमीजस्ताहरूले खाइदिई हाल्छन्
त्यसैले खान थालेको हुँ मैले आफ्नो मासु ।

एउटा सम्बृद्ध सपना बोकेर
झुन्ड्याउने चलनलाई जितेर
छाला काढ्ने राज्यलाई पराजित गरेर
जिब्रो लुछ्ने शासकलाई ढालेर यहाँसम्म आएको हुँ म ।

तर के गर्ने ?
तिमीहरूले आफ्ना लागि रेड कार्पेट किन्नलाई
हाम्रा सबै सपना बेचिहाल्यौ !

हामीले देखेको सपनामा
आफ्नै रगत र छाला खाएर प्यास र भोक मेटाउनु पर्दैनथ्यो ।
छाडा जिब्रो र गुच्चा खेलिने आँखा मात्र बाँकी राखेर
आफूलाई सिध्याउनु पर्दैन थियो ।

अब तिमी जे गर नगर
मसँग अर्को विकल्प छैन, यसबेला ।

म आफ्नो मुटु झिकेर स-साना टुक्रामा विभक्त गर्छु
अनि आफ्नै रक्तिसँग मिसाएर
रक्सीसँग खान्छु आँशु र पसिनाको ।
 
मसँग
मात्र यही एउटा अधिकार बाँकी छ ।