भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हजार आँखा, यी आँखामा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
हजार आँखा यी आँखामा जुध्छन् पलपल हराउँछन्
ती दुई नयन यी आँखामा जुध्दा हलचल गराउँछन्

हेरिरहूँ लाग्छ बदामी आँखा किन नजर झुक्दछन्
आश छ तर भनिदेऊ कहिले ती परेली फुक्दछन्
विरक्त मेरा यी आँखा पनि ती आँखामा रमाउँछन्
ती दुई नयन यी आँखामा जुध्दा हलचल गराउँछन्

हार हुन्छ भन्ने जानेर पनि यी आँखा जुध्दछन्
अजेय आँखा यी मेरा किन ती सामु चुक्दछन्
लजालु आँखा इशारा गरी खै के के अह्राउँछन्
ती दुई नयन यी आँखामा जुध्दा हलचल गराउँछन्

नशालु नजर मृगिणी नयन जुध्नलाई पोख्त छन्
नजुदाउ धेरै गाजलु आँखा विछोडमा दुख्दछन्
ती खुसी आँसु बन्लान कि भनी यी आँखा डराउँछन्
ती दुई नयन यी आँखामा जुध्दा हलचल गराउँछन्