भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हजुरको तिर्खा / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

किन अचेल तिर्खा लाग्छ
बिहान र त्यसको वरिपरिको परिवेशको
कतै बिहानमा तिमी त छैनौ,
कि किरण भएर अल्झिरहेको,
कि भएर पानीजस्तो शिखरबाट छहरा झैँ झरिरहेको
होइन, सबै विडम्बना हुन्
म ढाँटिरहेको छु –
म तिमीलाई लेख्न खोज्छु
र भन्न खोज्छु तिर्खा लाग्छ
होइन सबै व्यर्थका कुरा हुन्
म तिमीलाई सोध्न खोज्छु
र छुन खोज्छु तिर्खा लाग्छ
यहाँ त हरेक दिन एउटा गहिरो नीलो वालुवा तैयार हुन्छ र पनि
- तिर्खा लाग्छ
तिर्खा कतै इतिहासमा पहिले पनि लागेको थियो भने
त्यसले पनि चखेवाजस्तो आकाश हेर्यो होला
आफै पानी बगिरहेर पनि कतै –
मेघबिन्दु पर्खिरह्यो होला,
देवदूतजस्तो देखिने ढुंगालाई – देवता भनेर गुहार्‍यो होला
हे ढुङ्गा,
हे देवदूत, किन यस्तो हुन्छ – तिर्खा लाग्छ
स्वरूपका व्यवधानहरू बन्छन् |

देवदूत पनि ढुङ्गाभन्दा कति फरक छ र ?
देवता पनि स्वरूपभन्दा कति फरक छ र ?
उ पनि उचाइदेखि नै तलैतला भरेङ र डबली ओर्लेर
– यहाँ आउँछ |
यहाँ कसलाई छुन ?
किन यहाँ भन्ने पनि प्रश्न निर्माण हुँदा हुन् |
तथापि उसको तिरोहणसित
मेरो र कसैको पनि अवस्था पनि मिल्न सक्छ |
उ झर्छ – शायद उसलाई पनि, तिर्खा लाग्छ
कतै यो त निर्वल छ भनिदिने त होइन, प्रियाले भन्ने भय छ |

कति सरस र सरल छ अँध्यारो म सम्झिन्छु
साँझ स्वतन्त्र छ र साँझमा तिर्खा लाग्छ
जून स्वतन्त्र छ र जूनमा तिर्खा लाग्छ
तर, बिर्को नखुलेको सिसी जस्तो साँझ
आवरण नखुलेको परिवेष्ठित जून
तैपनि लोभ्याउँछन् पारदर्शी सरसतालाई
– म त्यसैले अल्झिन्छु
– खालि अल्झिन्छु |
मात्र अल्झिनु, उफ ! कति अल्झिनु,
युगहरू पनि बिते अल्झेर, त्रिशङ्कु अल्झेर
भाटभटेनी भई नछुने खुट्टाहरू भएर
खालि अल्झिनु |
मात्र अल्झिनु उफ् ! कति अल्झिनु |

कसैले आफैँलाई सबैसित ढाँट्न टाँसेको अनुहार
खालि अल्झिनु |
ढुङ्गाका उज्याला पाइतालाहरू टेक्दै हिँड्ने हावाको पनि प्यास लाग्छ
साँच्चै नै कोही कमजोर छ कि क्या हो
साँच्चै नै म कमजोर छु कि क्या हो
कहिले क्षितिजको पल्लो पाटा हेर्न मन लाग्छ |