Last modified on 10 मई 2020, at 10:43

हत्या जसको मुद्दा छिनिन्न प्रचलित न्यायलयमा / अभय श्रेष्ठ

कुनै पेशेवर हत्यारा हुँदो हो त
उठ्ने थिएन यो प्रश्न
श्रीमान् ! मेरो हत्यामा संलग्न थियो स्वयं न्यायालय ।

भित्तामा हानिएको ढुँगाजस्तै
फर्किएर जब न्याय बज्रिरहेको थियो छातीमा
उल्टै न्यायालय खेलिरहेको थियो मसँग तेलकासा
हो, न्यायालय बोलिरहेको थियो त्यही भाषा
जसले यस देशमा बनाएको छ त्याश्वत ।

के न्याय माछाको पखेटादार काँडा हो
जो बारम्बार अड्कन्छ घाँटीमा –
अथवा न्याय गुण्डाको हातको छुरी हो
जो रोपिन्छ बारम्बार हाम्रै छातीमा –
कि न्याय लिलामीमा राखिएको सामान हो –

घाममा सुकाइएको दाखजस्तै चाहुरिन
जब गरिरहेको थिएँ अस्वीकार
र, सोधिरहेको थिएँ
चिहानजस्तै मौन समयसँग सुनामी छालजस्ता केही प्रश्नहरू
श्रीमान् ! ठीक त्यतिखेरै भएको थियो मेरो हत्या
यस्तो एउटा हत्या, जसको मुद्दा
छिनिन्न प्रचलित न्यायालयमा ।
इतिहासदेखि नै बारम्बार
यसै गरी भएको छ मेरो हत्या
हो, न्यायकै मन्दिरभित्र बारम्बार न्यायको हत्यापछि
सहिदको रगतजस्तै बौरिएर हत्याभूमिबाट
एकपल्ट फेरि म उभिएको छु- सत्यको इजलासमा
थाहा छ- इतिहासको नाममा
सधैँ-सधैँ इतिहासको हत्या हुँदै आएको यस देशमा
फेरि पनि लेखिनेछ तिनीहरूकै विरुदावलिमय इतिहास
जसले अन्याय नै लजाउने गरी
बनाएका छन् अन्यायलाई शाश्वत
हो, जसले पाखण्ड नै लजाउने गरी
बनाएका छन् पाखण्डलाई श्रीखण्ड ।
थाहा छ- प्रचलित कानुनबमोजिम
खारेज हुनसक्छ फेरि एउटा सत्यको इजलास
र, थाहा छ- यसपालि पनि
माथवरसिंहको जस्तै हुनसक्छ मेरो हत्या ।
तर, मानिसहरूलाई थाहा छ-
मेरो हत्या किःमार्थ मेरो कथाकै अन्त्य होइन ।

कुनै पेशेवर हत्यारा हुँदो हो त
उठ्ने थिएन यो प्रश्न
श्रीमान् ! मेरो हत्यामा संलग्न थियो स्वयं न्यायालय ।