भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हराएको देश / अभय श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

(यस कारण सायद यस्तो भयो कि
तिमीलाई आफ्नै ज्यामिति थाहा थिएन- लोर्का)

उहिले उहिले
धेरै पहिले नै यो देशबाट
गुमाएका थियौँ हामीले आफ्नो देश ।
तर, उहिले उहिलेदेखि नै
हामी यो देशको सौर्न्दर्यगाथा गाइरहेका थियौँ
हो, हामी यो देशको
अबिरल र अजस्र पानीको कुरा गरिरहेका थियौँ
हरियो वन नेपालको धन भनिरहेका थियौँ
यो देशको स्वच्छ हावा र शीतल वातावरणको कुरा गरिरहेका थियौँ ।

यो देश
एसियाको स्वीजरल्याण्ड हो
यो गौरवलाई जोगाउनुपर्छ भनिरहेका थियौँ
सगरमाथा र गौतम बुद्धलाई उभ्याएर
संसारसामु नाक ठूलो पारिरहेका थियौँ ।

पक्कै पनि यहाँ
मौसमअनुसार चल्नसक्ने नेताहरू पनि थिए
क्षणमै उचालिने र क्षणमै पछारिने जनता पनि थिए
आन्दोलन, विद्रोह र वार्ता पनि
थोक बिक्री शैलीमा भइरहेकै थिए
मानचित्रमा पनि त देश छँदै थियो
तर, विडम्बना, देशभित्र कतै देश थिएन ।

उहिले उहिलदेखि नै
यहाँ न्यायालयमा कतै न्याय थिएन
उहिले उहिलदेखि नै
यहाँ सुरक्षामा कतै शान्ति थिएन
हो, उहिले उहिलेदेखि नै यहाँ
क्रान्तिमा इमान
सत्याग्रहमा सत्य
र, मुक्तियुद्धमा कतै मुक्ति थिएन

हो, हामीसँग देशका प्रशस्त गौरवगाथा त थिए
तर विडम्बना, देशभित्र कतै देश थिएन ।