हराएको सूर्य / श्रवण मुकारुङ
पहेँलपुर धानबारीबाट टाढा नियाल्दा
नितान्त एक्लो कुनै पहाड देख्छ्यौ
जो तिमीलाई
वर्षौदेखि निर्मिमेष हेरिरहेको छ
आज भने
ऊ आउँछ र बोल्छ कि भनेर
तिमी उतै तानिदैछ्यौ/चुपचाप तानिदैछ्यौ
मानौं तिम्रो तनमा
एउटा संगीतमय आवाज अस्पष्ट–अस्पष्ट आइरहेछ
एउटा गहिरो अचेतन आँसु भित्र–भित्रै सुँक्सुँकाइरहेछ
जुलुस
लोग्ने...
सिन्दुर...
र खट्खट्–खट्खट्...
अहिले तिमी
भननन घुम्दै कपालमा बस्न खोज्ने भँवरालाई
कचियाले हिर्काएर हिलोमा खसाल्न
झर्को मानिरहेकी छैनौ ।
त्यो गम्भीर पहाडको नाम
न तिमीलाई थाहा छ
न मलाई थाहा छ
तैपनि त्यो पहाड
क्रमशः तिम्रो सामु आउँछ
र तिम्रै इच्छामा तिमीलाई अँगाल्छ/बेस्कन अँगाल्छ
तिमी रगताम्य हुन्छ्यौ
र पछ्यौरीको सप्कोले
उसका छातीबाट बर्सिरहेका अजस्र पसिनालाई पुछेर
गह्रौ स्वरमा सोध्छेयौ–
‘पहाड ! मेरो सूर्य खोइ....?’
प्रत्युत्तरमा पहाडले–
‘मलाई देखाउने छ मलाई’
म,
खट्खट्–खट्खट् गाडा हाँक्दै
पूर्वको त्यही नितान्त एक्लो पहाडतिर गइरहेको हुनेछु
क्रमशः गइरहेको हुनेछु
तिम्रो पोखिएकोपा सिन्दुर बटुल्न ।