भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हरेक मान्छेभित्र एउटा अर्को मान्छे हुन्छ / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हेर्दा
हाँसिरहेको जस्तो देखिन्छ
तर / रोइरहेको हुन्छ
सुन्दा
बोलिरहेको जस्तो सुनिन्छ
तर / चुपचाप बसिरहेको हुन्छ
सम्झ्यो
छ जस्तो हुन्छ
तर / भइरहेको हुँदैन
बिर्स्यो
छैन जस्तो हुन्छ
तर / भइरहेको हुन्छ
रित्तिएको भाँडोभित्र भरिएको हावा जस्तो
विस्मृतिको दोबाटोमा छुटेको छायाँ जस्तो
हेर्दा
उही जस्तो
तर / बिल्कुल अपरिचित
कुनै उत्सवमा भेटिएकी प्रियसी जस्तो
कुनै यातनामा रेटिएको प्रेमी जस्तो
हिँड्दै जाँदा यात्रा जस्तो
नाच्दै हिँड्दा जात्रा जस्तो
ब्युँझदा एकथोक
निदाउँदा अर्कोथोक
कहिले
मन्दिरको ईश्वर जस्तो
कहिले
गल्लीको कुकुर जस्तो
हेर्दा
नदी जस्तो बगिरहेको हुन्छ
तर / बगरमा रोकिरहेको हुन्छ
हरेक मान्छेको अनुहार एउटै हुन्छ
तर / आधा हाँसिरहेको हुन्छ
आधा रोइरहेको हुन्छ ।

एउटा अत्यन्त मायाँ लाग्दो
अर्को अत्यन्त घिन लाग्दो
निरन्तर आफ्नै अस्तित्वसँग लडिरहेको
आफ्नै परिचयसँग अपरिचित
एउटा मान्छेभित्र एउटा अर्को मान्छे हुन्छ ।

हरेक मान्छेभित्र
एउटा अर्को मान्छे हुन्छ !


०००