कुनै अक्षर त्यत्तिकै पाएको होइन
कुनै कुनै कविता हुर्काउन
रात दिन एक भयो
धेरै अर्थमा, कैयन लिलामी खेपेर
पाएका अमूल्य निधी हुन कविता ।
ओह ! जन्मनु अगिको प्रसव वेदना
त्यसै जन्मीएनन यी भाव र भाषा
त्यसै उफ्रीएर दौडेका होइनन तमाम तरङ
त्यसै वनेका होइनन ओजपूर्ण अंश
ठूलै खेपाई छ, लगानी छ, भोगाई छ ।
ओहो ! कति महंगा भए भए
कुनै कुनै कविता
संझदा पनि पहिरो जान्छ मनमा
चुडिएको चंगा जसरी कहाँ कहाँ पुग्यो हृदय
कति कति टुक्रामा विभाजित भयो मुटु
कुनै हालतमा, सहज प्राप्ति होइनन कविता ।
हरेक अक्षरको पूरा पूरा मूल्य चुकाइएको छ
विम्व वजारको ठूलै लाममा
घंटौ घडी हेर्दै उभिएको क्षण
एउटै आवाजको आशमा
हजारौं पटक थिचिएका उही नम्वर,उही अक्षर
औलालाई थाहा छ, एकोहोरिनुको पागलपन ।
साँचै, कुनै कविताको मूल्य कम आक्न मिल्दैन
कुनै अभावका प्रतिक बन्न पुगे
कुनै स्वभावका शिकार
कुनै मायाको मीठो भ्रम
कुनै प्रयाशको पराकाष्ठा ।
कुनै हारेको जुवाडेझैं हासो वन्यो होला
कुनै सफलताको सौगातमय साँचो
जीवनमय थोपा थोपा थुपारेर
वनेका छन यी मूल्यवान कविता ।
यिनीहरु वडो दुःखले , प्रेमले, साहसले
उमारेका फूलका सुन्दर वुटा हुन
यिनीलाई सिंची रहनु, गोडी रहनु, फूलाई रहनु
जीवनको नियमित निरन्तरता
सत्ते ! त्यसै उभिएका छैनन तमाम कविता ।