हामीले प्रेम गरेको समय
त्यही समय नै हो
जुन बेला आन्दोलन भएको थियो यस देशमा ।
जब सडकहरूमा भीड पोखियो
र विस्फोट भयो अनगन्ती जुलुसहरू
हामी पनि दौडिएका थियौँ जोसले
त्यो सागरको किनारैकिनार हात समाएर
र हलुका थाकेझैँ
थोरै लजाएझैँ
थोरै डराएझैँ
शहीदगेटको भित्तामा मुड्की बजार्दै
हामीले आपसमा प्रेम साटेका थियौैँ
त्यही आन्दोलन भएको वर्ष नै हो ।
बेवारिसे सालिकझैँ
ठिङ्ग उभिएको सिंहदरबार अगाडि
पहाडहरू खालीखुट्टा पैदलै झरेको थियो सहर
र सहर बुट–ओभरकोटमा निस्किएको थियो सडकमा
बगैँचामा लुकामारी खेल्न नपाएका केटाकेटीहरू
चौतारीको सियाँलमा सुस्ताउन नपाएका भरियाहरू
बार्दलीमा टोलाइरहेका अधबैँसे–वृद्घाहरू
हामी सँगसँगै निस्किएका थियौँ
र नजानिँदो एउटै जुलुसमा लामबद्घ भएका थियौँ
हो त्यही आन्दोलन भएको वर्ष
हामीले आपसमा प्रेम साटेका थियौैँ ।
आन्दोलन भएको समय नै हो
घण्टाघरअगाडि सडकको कालो घोडाको सालिकछेउ
मैले तिम्रो आँखामा आगो देखेको थिएँ
त्यो आगो..........!
खै मेरो कस्तो मोह ?
र नै तिम्रो दाहिने हात दरिलो गरी समाएर
आकाशतिर मुठी कसेका थियौँ
र भनेका थियौँ जोडले
यो देशमा हाम्रो पनि अलिकति केही छ ।
आन्दोलन भएको समय नै हो त्यो
कुनै प्रेमपत्र नलेखेर तिमीलाई
कविता लेखेको थिएँ मैले,
युद्धबाट फर्किएका मजदुरहरू
कुनै बाटो नपाएर भौँतारिएका युवाहरू
सहरमा बिथोलिएका जमातहरू
नानीलाई दूध चुसाउँदै गरेका आमाहरू
कविहरू, नेताहरू, साधुहरू, धर्मगुरुहरू र अघोरीहरू
सबै–सबैले जुलुस बनाएका थियौँ त्यै कविता
र नै हामी सफल भएका थियौँ प्रेममा ।
त्यही सशक्त प्रेमको प्रतिफल .........
हामी भोगिरहेका छौँ यो स्वतन्त्र देश ।