भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हार-जितको यो खेलमा / सानु शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हार-जितको यो खेलमा कति मजा आउँछ, हेर्न बाँकी छ
यो मायाले मलाई उतार्छ या डुबाउँछ, हेर्न बाँकी छ

मिराज जस्तै छ मेरो जीवन, भनिदिएकै छु मैले
यसको कसले कस्तो अर्थ लगाउँछ, हेर्न बाँकी छ

बाटो ढुकी ढुकी हेर्छ र चुपचाप फर्किन्छ जिन्दगी
केही गर्छ या यसरीनै जीवन बिताउँछ, हेर्न बाँकी छ

छुट दिएकोछु मैले उसलाई, दुईमध्ये एउटा रोज्ने
निभाउँछ यो आगो या झन दन्काउँछ, हेर्न बाँकी छ

भन्थ्यो मायामा ज्यान दिन परे पनि पछि हट्दिनँ
साँच्चै ज्यान दिन्छ या दायित्व निभाउँछ हेर्न बाँकी छ

जीवन मेरो अधिकार उसको, कोख मेरो सन्तान उसको
यस्तो अन्यायले कहिले निसाफ पाउँछ, हेर्न बाँकी छ

चन्द्रमा जस्तै हुन्छ उसको मुहार उज्याला क्षणहरूमा
अँध्यारो हुँदा कुनकुन रूप देखाउँछ, हेर्न बाँकी छ ।

अनेकौं मोड जीवनका, अनेकौं रहेछन् आयामहरू
कुनकुन मोडमा नियतिले केके घटाउँछ, हेर्न बाँकी छ ।