Last modified on 31 मई 2017, at 08:37

हिँड्न पनि साइत चाहिँदो रै'छ / ज्ञान उदास

कहिलेकाहीँ हिँड्न पनि साइत चाहिँदो रै'छ
कसो कसो बोल्न पनि साइत चाहिँदो रै'छ ।

सबैसँग सधैँभरि जिस्किरहने बानी
आँखाआँखा जुध्न पनि साइत चाहिँदो रै'छ ।

गाउँघरको समाज पनि कहिले काहीँ कस्तो
मनको फूल टिप्न पनि साइत चाहिँदो रै'छ ।

संसारमा देखेजति सबै आफ्नो भन्थेँ
तिनैसँग भेट्न पनि साइत चाहिँदो रै'छ ।

बनावटी मुस्कानमा बम हुनसक्छ
याद गर हाँस्न पनि साइत चाहिँदो रै'छ ।