भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
हिउँदमा शिरीषको रूख / मनप्रसाद सुब्बा
Kavita Kosh से
					
										
					
					
उः पर त्यो शिरीषको रूख
किन नाङ्गै उभिएको हँ यस्तो जाडोमा ?
चुनौती उभिएको हो त्यो 
चु
नौ 
ती 
मनपरी दादागिरी देखाइहिँड्ने 
हैकमवादी हिउँदविरुद्ध !
+
होइन । 
मुन्तिर मसिना झारपात र बिरुवालाई 
न्यानो घाम नछेलियोस् भनेर 
आफू यसरी नाङ्गो भइदिएको । 
+
होइन, होइन । 
फिनिक्सले जस्तो आफूलाई फेरि नवीकरण गर्न ..
+
होइन ।
वोधिको खोजीमा 
भोकभोकै तपस्या गर्ने सिद्धार्थ जस्तै ..
एड इन्फिनिटम ...
तर्क र अनुमानहरू थप्दै जानुहोस्, पाठकहरू ! 
तर 
‘कसैले पनि देख्दैन रहेछ मलाई.., आफू देख्छन् ..’१
१. इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’-मा चामेले बोलेको एक वाक्य।  
	
	