Last modified on 23 जून 2020, at 15:29

हिउँद / रमेश क्षितिज


तुषारोको सिरक ओढेर सेताम्मे
पल्टिरहेछन् बाटाहरू दूर दूरसम्म

कोही देखिन्न पर घुम्तीमा आउँदै गरेको
फगत् ! जड्याहा भुँइकुहिरो मातेर एकाबिहानै
ठोक्किदै हिडेको छ मोडहरूमा

गुँडबाट टाउको निकालेर हेर्दैछ गौथली घरवाहिर
रुँदैछन् शिशिरका नाङ्गा बोटहरू शीत बगाएर
अनगिन्ती मानिसका सपनाहरूको हत्यारो दिन
हातमा अगुल्टो बोकेर आउँदैछ नजिक नजिक
बेला बेलामा दौडिन्छ तानासाह सिरेटो
र कपाउँछ कमलो मुटु यहाँ

अनन्त हिउँद छ आँखाअघि
र यसबेला
आफ्नै अतीतका सम्झनाहरूको धुनी जगाएर आँगनमा
तापिरहेको छु म न्यानो

छेउमा कठाङ्ग्रिएका हत्केला रगड्दै
उभिइरहेछ चुपचाप
हिड्दै गरेको अपरिचित बटुवाजस्तो जिन्दगी !