हुरी / ज्योति जङ्गल
पातहरुको विरुद्धमा
एकतमास
हावाको जलुस उठिरहेछ
मानौं
मुना पलाउने हागाहरु नै
रहनेछैनन् भोलिसम्म।
शुन्य भइरहेछ समयको गति
धमिलो प्रकासले छोपिरहेछ सूर्यलाई
यो एकोहोरो नबुझने हल्लाले
सबलाई किन बाडिरहेछ डर ?
हुरी !
बसन्त बोलाउन
तिमीले बढारेको बाटोमा
भोलि तिनै मुनाहरु खस्छन्
कुहिन्छ तिम्रो बैंश
भदौरे घामको बाफभित्र।
थाह पाइराख्नू
सुन्तले पाखाहरुमा
तिमी आउनुअघि नै सुन फलिसक्छ
खेतले धेरैअघि
खन्याइसक्छ आफुलाई
घरघरका ढिकुटीमा।
यो विध्वंशको क्रुद्ध हस्ताक्षर
छोपिन्छ तुरुन्त
पुनःनिर्माणको जागरले
यतिखेर यो चैतमा,
केही छन् त हागामा सुक्न लागेका पातहरु
केही छन् त पानीबिना तिर्खाएका जराहरु
खै के जित्यौ ?
यी बूढा पंहेला पातहरु त
तिमी आएपनि झर्छन्
तिमी नआएपनि झर्छन्।