भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हुलाकघर–१ / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

झरीमा हुलाकघर
संकटकी एक्ली आइमाईजस्तो हुन्छ,

छानाबाट चुहिन्छ
आँसुजस्तो पानी निरन्तर
र अस्पष्ट पारिदिन्छ – सुन्दरी खामका आँखाका
गाजले ठेगानाहरू,

त्यो पुरानो भवनअगाडि
निकास नपाएर पीडाजस्तो जमेको पानीमा
घुँडा–घुँडा पेन्ट उचालेर
चब्ल्याङ–चब्ल्याङ निस्फिक्री हिँड्छन् मान्छेहरू
र लाग्छ – प्रेषकले चिठीमा लेखेर पठाएका
असंख्य दुःख र आँसुको बग्दो संग्रह हो
झरी,
 
पर्खिरहन्छ – कालो बादल लागेको आकाश हेर्दै
बर्सातीबिनाको हुलाकी बुढो
सम्झिँदै पुग्नुपर्ने धेरै मुकामहरू,

आधी भिजेर ओत लाग्छन् – पोस्ट रेस्ताँते कोठामा
भरिएको पानीमा टेकेर केही विदेशी पर्यटकहरू,

झरीमा हुलाकघर,
प्रियतमको चिठी पर्खेर रोइरहेकी
कुनै युवतीजस्तो हुन्छ ।