भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हुस्सू थोरै ओढेर गाउँ / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आतंकित हुस्सू
थोरै ओढेर
थोरै फ्याकेर छेउमै
गाउँ मस्त निंद्रामा छ

हलिउडका हट गसिपहरु
सुपरमोडलका हाइप्राइस्ड ट्यागहरु
राजधानीका राजनैतिक दाँवपेचहरु
क्याफेका कफिगफहरु
प्रविधि विकाशका हुटिट्याउहरु
प्लेस्टेशन, एक्सबक्समा रमाइरहेका नानीहरु
इन्टरनेटका रमाइला सूचनाहरु
र फेसबुकका घतलाग्दा स्ट्याटसहरु
यी सबै–सबैबाट धेरै टाढा...

आफ्नै वरिपरि कान्लाहरुमा उम्रिएका रङ्बिरङ्गी
लोककथा जस्ता बसन्तहरु
पारि छाँगो बज्रने भूइँकुहिरोले छोपिएर बगेका खोल्साहरु
छेउकै जंगलमा खसेका मृत्युजस्ता पातहरु
भर्खरै भएको विष्फोटको गन्ध बोकेर उडेका काला बादलहरु
ती सबै–सबैबाट अनभिज्ञ
संत्रस्त हुस्सू थोरै ओढेर
थोरै फ्याँकेर छेउमै
गाउँ निस्लोट सुतिरहेको छ ।

खैँ !
कसले बिउझाउँने हो
यो घोर निंद्राबाट गाउँलाई ???

(चित्रकार नरेश सुन्दर सैँजुको चित्रमाथि कोरिएको कविता)