हे बाघ, तँ हुँदाहुँदै / तेजश्री जे.एन. / सुमन पोखरेल
दुई बाघ सूर्यास्तको रङमा -
एउटा मचानमाथि मस्त निद्रामा
जिब्रो निकालेर गस्ति लगइरहेको, अर्को ।
उक्सिँदै-टाक्सिँदै गर्दोछ निदाएकाको पेट
मान्छेलाई डराउनका लागि मनग्ये छ त्यो
“ए! साँच्चैको बाघ, ज्यूँदो बाघ
पेटमा हेर त, कस्तरी चल्दैछ” ।
संसारलाई पिठ्यूँ देखाएर
डुबेको छ त्यो गहिरो निद्रामा।
उसको मनमोहक शरीरभरि
लहर लागेर बसेका छन् अँगारे धर्साहरू ।
गस्ति लागाउने बाघ दुनियाँतिरै फर्काइदिन चाहन्छ दुनियाँको आवाजलाई
उसका आँखामा, दन्किरहेछ संसारलाई ध्वस्त पार्न सक्ने ज्वालामूखी
खपिनसक्नु गरी उम्लिँदैछ उसको गतिको व्याकूलता
र छछल्किरहेछन् उसको पिठ्यूँका छालहरू ।
राता दुई आँखा
उग्रसँग घुमिरहेका दानाहरू
ज्वालाको तीब्रतालाई माथि उचालेर
उत्तर खोजिरहेछन् यत्रतत्र
किन बन्दी बनाइयो ऊ यसरी
र बुझ्न चाहिरहेछन् मानव अस्तित्वको अर्थ ।
हे बाघ, तेरापछाडि
तँ हुँदाहुँदै...