हे सूर्यदेव ! / श्रवण मुकारुङ
हे सूर्यदेव !
हे अग्निदेव !
हे आकाश !
हे धर्ती !
हे जलदेव !
हे वायुदेव !
जसरी– यो रुख उभिएको छ मेरा सामु
त्यसरी नै उभिएको छु म तपाईं समक्ष ।
हे आदिदेव !
हे परम–पुर्खा !
जहिले उम्रियो यो रुख यहाँ
उसैबेलादेखि
म उम्रिएको थिएँ यस मैदानमा
फैलिएको थिएँ म क्षितिजको गहिराइसम्म ।
जसरी–
उनीहरूले यो रुखका कलिला हाँगाहरू लुछे
त्यसरी नै मेरो हात, खुट्टा, गिद्दी र आँखाहरू लुछे
मेरो छातीका आदिम करङहरू लुछेर
आफ्ना लागि सुरक्षित घर बनाए
मेरो आवाज लुछेर उनीहरूले आफ्नो भाषा बनाए
मेरो रुवाई लुछेर उनीहरूले आफ्नो गीत बनाए
मेरो आक्रोश लुछेर उनीहरूले आफ्नो हतियार बनाए
मेरो आँशु लुछेर उनीहरूले आफ्नो प्यास मेटाए
हे ईश्वर !
हे सृष्टिकर्ता !
हे पौरखी !
जसरी यो रुख
हल्लिन्छ– प्रत्येक हुरी–बतास–झरी
र बद्लिँदा ऋतुहरूमा
त्यसरी नै म
हल्लिन्छु पात झैँ मेरो दुःखमा
हे प्रभु !
हे महाज्ञानी !
हे महाब्रम्ह !
यो रुख उनीहरूको थिएन
यो माटो, खेत–खलिहान र बाटो
यो जङ्गल, खोला, चरा र गीत उनीहरूको थिएन
यो घर, आँगन, इनार
आमा, बाबा र आकाश उनीहरूको थिएन
यो रुख झैँ थिएँ म
यो रुख उनीहरूको थिएन
आश्चर्य !
आज यो रुख कसरी उनीहरूको भयो ?
आज म कसरी उनीहरूको भएँ ?
हे ईश्वर !
हे न्यायदाता !
हे सम्पूर्ण मानिस !
मलाई यो रुख झैँ जराहरू देऊ !
म भित्र–भित्र पैmलिन चाहन्छु यस भूमिमा
कि मलाई प्वाँख देऊ
म चरा झैँ उड्न चाहन्छु माथि–माथि आकाशमा
मेरो खुन र पसिनाले अघाएका
मेरो खुन र पसिनामा नुहाउने
मेरो खुन पसिनाले बाचेका–
ए मेरा मालिकहरू हो !
मलाई एकपल्ट फेरि धोंधी टिप्न देऊ
माछा मार्न छेऊ माछा
रक्सी खान देऊ रक्सी
एकपल्ट फेरि पखाल्न देऊ–
तिमीले लगाएका नयाँ–पुराना दागहरू
गाउँन देऊ मलाई मेरो गीत
मनाउन देऊ मलाई मेरो माघी ।
(सुनिल पोखरेलद्वारा निर्देशिक नाटक‘ ‘कम्लरी’ भित्र मञ्चित कविता)