२०४७ भाद्र ३ गते 
पैलो क्रन्दन त्यो नवीन शिशुको मैले सुनेको थिएँ 
आत्मा भित्र कता कता हृदयमा मायाँ भरेको थिएँ 
मेरा नेत्र भरि सदैव उसको छायाँ बसेको थियो 
कस्तो दर्द भयो अचानक कठै ! त्यो शून्यमा अल्पियो //१//
 
तिम्रो अन्तिम ढुक् ढुकी हृदयको मैले सुनें आखिर 
भक्कानो मुटुमा फुटीकन कठै ! आँशू खसे बर्बर 
धेरै बाँच्न हुँदैन हो कि किन हो राम्रो हुने बालक 
कस्तो निष्ठुरी दैब हो ! चुँडिलग्यो मेरो नयाँ भानिज //२//
 
कस्तो दर्द भयो अचानक कठै ! रोकी दियौ स्पन्दन 
मेरा आँशु झरी रसाई मुटु यो पग्ली रहेछ मन /
के हो त्यो ? कसरी पस्यो शरीरमा के ले दियो ताडना 
मैले बुझ्न नभ्याऊँदै तिमी गयौ मान्दैन मेरो मन //३//
झल्को लाग्छ मलाई नै घरि घरि तिम्रै कली रूपको 
तिम्रा सुन्दर नेत्रको, हृदयको यौटा नयाँ सृष्टिको /
कैयौं बालक ती कली हृदयका फर्की यहाँ आउँछन् 
तिम्रै सुन्दर रूपको घरि घरि झल्को लगाउँदछन्//४// 
 
हे बाला कलिला नयाँ हृदयका ! हे प्राणका स्पन्दन 
हे मेरा रघुनाथ ! हे नव छटा ! हे रूपका कञ्चन 
संसारी घर यो र अन्ध दुनियाँ लागेन राम्रो कि त ?
आजै फर्किगयौ , गयौ स्व – घर नै हे स्वर्गका बालक //५//