हैँसा बुढीको मुख / लक्ष्मीप्रसाद देवकोटा
(१) 
हेर धोति हिसिशून्य मुहार। 
चाउरीहरू बनी भरमार । 
छन् अनेक खहरेकन खोंच 
क्या मुजासित चुनाउँछ शोच ॥ 
(२) 
रङ्ग छैन मुखमा न छ पट्ठी 
हातमा छ निहुरी लिन लट्ठी। 
आधि हेर जिउ भै उसपट्टि 
रूप क्या छ यसको सब छुट्टी ॥ 
(३) 
भाँच्छ ढाड पनि काल बसेर 
केश पाक्दछ तुषार करेर । 
छैन ज्योति धमिलो अब आँखा 
छैन यो जगत हेर्न चनाखा ॥ 
(४)
मार्दछे अब बसीकन माखा 
झल्लरी सब धुजाहरू लाखाँ। 
आँगनै छ, निहुरी तर हैंसा 
माग्दछ अझ यातातिर पैसा ॥ 
(५)
यो न बाँदर न भूत न बोक्सी 
क्या बुढी जिउ सबै अब टाक्सी। 
खसिईकन बनीकन खाक्सो 
माग्दछे मसँग "देऊन चाक्सो ॥" 
(६)
देख्छु यो जब बूढी अबलाई 
लाग्छ हाँस्न मन हेर मलाई। 
दाँत खै त कुन ठाउँ अफाल्यौ 
केशमा हिउँ अहो ! किन हाल्यौ ? 
(७)
चाउरीहरू गला पनि तानी 
कल्ल कल्लसित प्यूँदछ पानी। 
कान हेर बहिरी किन ज्यूँछे 
आधि च्यानतिर भै जल प्यूँछे ॥ 
(८)
गुन्गुनाउँदछ हेरन ओठ 
क्या बुढी छ बिनु पातकि बोट । 
तन्त्रमन्त्रहरू धेर निकाली 
पाल्दछ कि छउँडा र बिराली ॥ 
(९)
ह्वैन ह्वैन अति जिस्किन हुन्न 
हुन्छ है डर बुढी यदि रुन्न । 
छोप्दछे पछि त ऐठनद्वारा 
यो भयंकर छ हेर बिचारा ॥ 
(१०) 
यो थिई अघि मनोहर पट्टी 
भैसकी अब त हेरन छुट्री । 
जिन्दगी पछि अहो कति शून्य। 
भो खिसी बहुत गर्नु त हुन्न ।
	
	