भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

२७ मई, १९६४ ∗ / बैरागी काइँला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


खस्यो, यौटा दिन चिप्लिएर हत्केलाबाट ...

बीचसडकको प्रकाश–स्तम्भमा बल्ब फुटाएर
आज मध्यदिनमा
घाम झ्वाप्प निभ्यो!

अल्मलिएका करोडौँ आँखाहरु
भन्किन्छन् रानोबिना गुँड छताछुल्ल घेरेर !

अरे खोई त्यो उत्तरको ध्रुबतारा ....
जसलाई संकेत पारेर समुद्रमा हामी आँखा टेक्दथ्यौं....

आह ! खोई उज्यालाका बिटाहरू !
आह ! खोई सडकहरूमा बाटो !
चट्टानमा टाँस्सिन्छन् उड्दा्–उडदैका परेवाका लामहरु !
आकाश नटेक्दै
चुम्न नपाउँदैं
ओलिम्पसको उचाइको हात.....
रोकिन्छन् बीच बाटामै किन आँखाहरु ?

हिँडन नपाउँदै क्षितिजको यो किनारा त्यो किनारा....
पाइलाहरु किन थन्किन्छन् स्थापत्यमा ?
निरुद्देश्य.......................
अल्मलिएका करोडौँ पाइला खज्मजिन्छन्
यो आँखाभरि .....त्यो आँखाभरि...
अरे ! खोई त्यो उत्तरको ध्रुवतारा ....
जसलाई संकेत पारेर समुद्रमा हामी आँखा टेक्दथ्यौं....

घुम्न अस्वीकार गर्छ पृथ्वीले यो क्षण !
धरतीले फक्रिनु अस्वीकार गर्छ गुलाबको फूलमा !
प्रत्येक जिन्दगीले, पहाडले
प्रत्येक गतिले, खोलाले
बाँच्न अस्वीकार गर्छ अन्यमनस्कमा भास्सिएर यो क्षण !

अरे! खोई त्यो उत्तरको ध्रुवतारा ....
जसलाई संकेत पारेर समुद्रमा हामी आँखा टेक्दथ्यौं....

दिनु उचालेको हात टक्क अडिन्छ आकाशमा यो क्षण !
हाँस्नु उघ्रेका ओँठका तरेलीहरू टक्क अडिन्छन् यो क्षण !

टक्क अडिन्छ प्रत्येक व्यवहार, स्तब्ध र आहत
–घरमा
–दफ्तरमा
–स्कूलमा
–रेष्टूराँमा
–अनि सडकमा !
छात्तीभित्र दिवाल घडी अडिन्छ !
टक्क रोकिन्छ समय हत्केलामा जमेर
गति थुप्रिन्छ ढुङ्गा भएर दोबाटोमा !

आह ! खोई उज्यालोहरूको बिटा !
आह ! खोई सडकहरूमा बाटो!

खस्यो....
यौटा दिन विश्वास फुत्किएर ..
अणुबमको ध्वंस बोकेर मान्छेको निधारमाथि !

छेक्न सकेनन् परेवाका पखेटाले युद्ध,
बौराउन सकेनन् गुलाबले खण्डहर
घाउभरिनै पाएन च्यात्तिएको मानचित्रको !
फेरि एकपल्ट
पृथ्वी ध्वस्त भयो, यो क्षण !

फेरि एकपल्ट
मान्छेको मृत्यु निर्विरोध भयो, यो क्षण !

गङ्गा र जमुना भाँचेर हाँगा र झिक्राहरुमा
डढेलो लाग्यो सधैँलाई आज
मान्छेको शरीरभरि !
फेरि एकपल्ट युद्धले मानवता पराजित गर्छ
फेरि एकपल्ट
मान्छेलाई मृत्युले जित्छ
फेरि एकपल्ट
मृत्युको जीत इतिहासमा सुरक्षित भयो, यो क्षण !
निभे.....करोडौँ आँखाहरु फ्यूज गएर
सिङ्गो प्रलयको अँध्यारो लिएर बस्ती र शहरभरि .....

अरे! खोई त्यो उत्तरको ध्रुवतारा ......
जसलाईसंकेत पारेर समुन्द्रमा हामी आँखा टेक्दथ्यौं.....

आज मध्यदिनमा
घाम झ्वाप्प निभ्यो......
बीच सडकको प्रकाश–स्तम्भमा बल्ब फुटाएर
खस्यो.....यौटा दिन चिप्लिएर हत्केलाबाट......

अरे! खोइ त्यो उत्तरको ध्रुबतारा.....


∗ ताः २७ मई, १९६४, दिउँसो २ बजे पं. जवाहरलाल नेहरुको अचानक र असमायिक निधनमा लेखिएको यो कविता स्वर्गीय पं. नेहरुकै पूण्यस्मृतिमा श्रदाञ्जली स्वरुप अर्पित छ ।