भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

‘अछुत’को प्रेमगीत / अभय श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म छु वारि भीरमाथि,
डाँडाको बतासजस्तै पारि छ मेरो मुटु ।

जसरी पुरानो भित्तामा चल्छ
खिया लागेको पुरानो घडी
ठिक त्यसरी नै चल्छ
नयाँ संविधानमा सत्ताको रथ
त्यसरी नै तिम्रो नजरमा
म अझै
पिँढीभन्दा तल
करजोरी गरिरहने उही पुरानै अछुत हुन्छु ।

हार्नेहरूको वीरताझैँ मेटिन्छ
त्यहाँ मेरो आँसु, पसिना र रगतको इतिहास ।

म मान्दिनँ–
प्रेमको संसारमा वर्णको कुनै भित्ता हुन्छ
एक बारको अमूल्य जुनीकै जोखिममा
रोजेको हँु मैले एक ‘सवर्ण’ युवतीको प्यार
तर, हरेक पटक प्रेमको आलिङ्गनमा
मेरो कलेजाको मध्य भागमा रोपिन्छ जातको खन्जर ।

मान्छेको निर्दोष रगत र अक्षत प्रेमलाई
जिउँदै जल्न नदिन
अब त मसँगै छन्
वर्णको प्रदूषित हावा र प्रेमको निषेधमा
निःसासिएका सहस्र मानिस
प्रेमको पवित्र सौन्दर्यशास्त्रले पनि
भन्न सक्दैन मेरो पवित्र प्रेमलाई अपवित्र
यो देशको सर्वोच्च विधान
रगतले सिँचेको यो भूमि,
पसिनाका बुँद,
यो घाम, यी जूनतारा
बतास र रूखपातले पनि
युगमाथि तर्जनी औँला ठड्याइसके ।

तर, भोरको मन्द हावाझैँ मेरो हृदयमा नित्य ठोकिएको
प्रेमको जवाफमा
किन रोकिन्छ मलाई प्रेमनगरको प्रवेशद्वारमा ?


म प्रेमको अतुल गहिराइमा
बोल्छु मौन भाषा
त्यसलाई तिमी तरबारले थुन्छौ
जवाफमा वाचाल छ मेरो मौन
जलाएर धर्मशास्त्रका पाना र उद्धरणहरू
छाड्नु छ मैले यहाँ पवित्र प्रेमको डोब
दिनु छ युगलाई प्रेमको भाषामा
एउटा बाफिलो जबाफ
यो देश साझा फूलबारी हो भने
मत्स्यवेदको प्रवेशद्वारमा तोड्नु छ मैले निषेधाज्ञा ।

म पनि त चाहन्छु
यो दुःखी दुनियाँमा नचलोस् आँधीहुरी
मेरो पवित्र प्यारको आकाङ्क्षामा
नखलबलियोस् कुनै रूखको जरा
नलागोस् कुनै वनमा डँडेलो
तर, दुनियाँमा कैयन् यस्ता कुरा छन्
जसलाई नजलाए
यहाँ धेरैले जिउँदै जल्नुपर्छ ।

म छु वारि भीरमाथि
पिँजराको बुलबुलझैँ पारि छ मेरो माया ।