भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"बाटो हराएको गाउँ / गीता त्रिपाठी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=स...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

08:27, 2 जुलाई 2021 के समय का अवतरण

बर्षौंअघि
बाटोको साथ लागेर
आइपुगेथेँ यहाँसम्म
बर्षौंपछि अहिले
त्यहाँसम्म फर्किन
बाटोले नै मेरो साथ मागिरहेछ
 
भोकाएको बालकजस्तो
पर्खिरहेछ बाटो हराएको गाउँ
फनफनी रिङ्दो हो सोचेर-
कसरी आउँछ यसपालि दसैँ
यो गाउँमा !
 
म बाटोको गीत
कहिले पहिरोले गाउँछ
कहिले बाढीले गुन्गुनाउँछ
 
बाटोविनाको गाउँसँग
नयाँ बाटो भएर
जोडिनुछ मैले यसपालि
मविना कसरी पुग्दो हो गाउँमा दसैँ ?
 
बाँधेको छु संवेदनाका भारीहरू
तिमीतिरै आउने हतारमा छु
आहत छु फेरि पनि
हल्लिरहेको छ
एउटा आदिबासी कम्पन
मभित्र

यही भीरको बस्तीमा
पुर्खाले बनाएको बाटो
खोजेर पनि भेटिँदैन आज
म लयविहीन गीत
पहिरोको सङ्गीतले भयभित छु
 
मैले बनाइआएको यो नयाँ बाटो
इतिहासको कुन खण्डसम्म तन्किन सक्ला ?
कति पाइलाका वजन थाम्ला ?
 
भन्न नसकेर यो बाटोको लम्बाइ
भन्न नसकेर यो बाटोको आयु
भन्न नसकेर 'यो बाटो खतरामुक्त छ !'
अन्योलग्रस्त छु यो यात्रामा
माग्न नसकेर तिम्रा पाइला
नपाएर कुनै क्रेम्पोन टेकाइ
आफैभित्रको पहिरोमा
रोकिएको छु !
 
म बाटोको गीत
कसरी तर्नु मैले
एक्लै यो अपार पीडाको ताल
कसरी पुग्नु
यत्रो गर्जनले पनि नब्यूँझिएका
यी बेताल बस्तीहरू छिचोल्दै
 
दलदलमा भासिएको त्यो हृदयभित्र !
कसरी खोल्नु मैले
यो बाटोको सुरिलो आवाज ?