भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"फोर्टिन फेब्रुअरीको साँझ : ताजमहल अगाडि उभिएर / दीपक शम्चू" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=दीपक शम्चू |अनुवादक= |संग्रह=अनुह...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

13:31, 7 सितम्बर 2024 के समय का अवतरण

प्रेमिकाको तस्बिर बोकेर हृदयमा
फोर्टिन फेब्रुअरीको साँझ ताजमहल अगाडि आइपुगेपछि
लाग्न थाल्यो
मृत्यु पर्खनकै लागि हामी आपस्तमा प्रेम गरिरहेका रहेछौं ।

हामीले त
मृत्युलाई अस्वीकार गर्दै प्रेमको हत्या गर्न खोजिरहेका रहेछौं
कोमल प्रेमको रहर पालेर झनै क्रूर बनिरहेका रहेछौं ।

शाहजहाँ !
म अहिले ताजमहलको सौन्दर्यले मातेको सुरमा
तिमीले बिताएको इतिहास पल्टाइरहेको छु
मिनारको उच्च बिन्दुबाट बिच्छ्याउँदै आँखा
प्रेममा बिक्षिप्त भई बाँच्नेहरूका प्रेमकहानी खोजिरहेको छु ।

भौतिक सम्पन्नता नै प्रेमको पूर्णता हुँदो हो त
किन जित्न सकिनन् मुमताजले मृत्यु ?
वैभवले मात्र प्रेम प्रदर्शन हुँदो हो त
किन भुल्न सक्दैन इतिहासले
ताजमहल बनाउँदाबनाउँदै मरेका
मजदुरहरूका प्रेमिकाले खसाएको आँसु ?

शहंशाह !
तिमी क्रूर थियौ र त प्रेमिल हुन सक्यौ
तिमी प्रेमिल थियौ र त क्रूर बन्न सक्यौ ।

फोर्टिन फेब्रुअरीको साँझ ताजमहल अगाडि उभिएर सोच्दैछु
मृत्यु भेट्टाउनकै लागि हामी परस्परमा प्रेम खोजिरहेका रहेछौं
मृत्यु पर्खनकै लागि हामी आपस्तमा प्रेम गरिरहेका रहेछौं ।
०००