भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"आप्पाको अनुहार / दीपक शम्चू" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=दीपक शम्चू |अनुवादक= |संग्रह=अनुह...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

14:25, 7 सितम्बर 2024 के समय का अवतरण

खेल्दाखेल्दै
आफ्नो आप्पाको हात समाउँदै
छोडी गएपछि साथीले
बारीडिल आएर सोधेयँ
'आमा, कस्तो थियो मेरो आप्पा ?'

कान्लामै उभिएर
आमाले धूमिल आकाश हेर्नुभो

आधा भरिएको डोकामा
मुट्ठीको घाँस फ्यात्त फ्याँकेर खाँद्न थाल्नुभो ।

'छिट्टो भन न,
कस्तो थियो मेरो आप्पा ?'

ठुटो रूखको च्यूलो लुच्छ्दै भन्नुभो
'तँ ठूलो भएपछि ऐना हेर्नू देख्नेछस् आप्पाको अनुहार ।'

बाख्राको पाठोझैँ
बुरूक्क - बुरुक्क उफ्रदै घर आएँ
मूल ढोका छेउको ठूलो ऐना हेरेँ
अहँ ! देखिनँ आप्पाको अनुहार ।

भित्तामा झुन्डिरहेको ऐना झिकेँ
छामेँ, आफ्नै औँलाका प्रतिबिम्बहरू
उप्काउनु खोजें पछाडिपट्टिको फ्रेम
र पच्छारिदिएँ सिकुवामा झऱ्यामझुरूम ।

ए...हे ! आमाले हेर्ने बट्टे ऐनामा पो
देखिन्छ होला आप्पाको अनुहार ।

पिङ्ग्या*माथिको
बाघमुखे काठको बाकस मझेरीमा झारेँ
केही खुसी जोगाइरहेको तालालाई
लोहोराले ढ्याङ-ढ्याङ कुँच्चाएँ
रहस्यको गाँठो कसी बसेको कब्जालाई
खुकुरीको टुप्पाले ठुङी - ठुङी फुस्काएँ ।

नउघ्रिएपछि बाकस
बञ्चराको धारले कैटाएर
बट्टे ऐना झिकी हेरेँ,
देखापरेन आप्पाको अनुहार ।

बट्टे ऐना खोल्दा साँच्चैको आप्पा
फुत्त निस्कने पो हो कि ?

बिस्तारै-बिस्तारै बट्टा खोली हेरेँ
चुपचाप थियो बट्टाभित्र
फक्रिनसकेको कोपिलाझैँ
बेरिएको एक झुप्पो पोते
किरि‌मिरिङ् लेख्दालेख्दै मसी सक्किएर
कच्याककुचुक पोको पारिएको रक्ताम्य पुरानो कागज ।

फस्रक्कै परेर
दुबै हातका औँलाहरू खापी
सिरानी लगाउँदै मझेरी कुनामा अडेसो लागेँ ।

एकैक्षणमा खै ! कता... हो कता.... !
हिमालभन्दा माथि
कपासैकपासको भुवामा तैरिएर
बादलभित्र छाम्न खोज्दै थिएँ
आप्पाको अनुहार
सरर्र बिलाएर गयो ।

तन्द्रामै रहेर आँखा मिच्दामिच्दै
रेसमी तरङ्ग गुजुल्टिँदै आएर साउती गयो
'आमाको ढुकढुकी छाम्नू, मेरो प्राण भेट्नेछौ
अल्झिबसेको हुनेछु नानीभित्र
नियालेर हेर्नू आमाकै आँखा ।'

०००
* पिङ्ग्या - आँट/आँटी