"नेपाल / क्षेत्रप्रताप अधिकारी" के अवतरणों में अंतर
Sharda suman (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=क्षेत्रप्रताप अधिकारी |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
15:27, 25 फ़रवरी 2015 के समय का अवतरण
प्रिय सम्पादक !
तिमी सम्पादकीयमा
नेपाल लेखिरहेछौ
म, कवितामा
नेपाल लेखिरहेछु
विधा भिन्न भएर के भयो त
हामी एउटै नेपाल लेखिरहेछौँ
हाम्रो सौन्दर्य त्यही हो
कहिलेकाहीँ तिम्रो पत्रिकामा
मेरो कविता पनि छाप है !
तिमी तिम्रो रुपकमा
मुखियाको हाँसो लेख
म मेरो गीतमा
दुखियाको आँसु लेख्छु
हाँसोमा होस् कि आँसुमा
हामी नेपाली दुःखसुख लेखिरहछौँ
हाम्रो विशेषता त्यही हो
तिम्रो पत्रिकामा यदाकदा
मेरो गीत पनि छाप है !
तिमी नेपालमा छापिएका
रामवरणहरुका कथा हेर
म नेपालमा नछापिएका
अपहरणहरुका व्यथा हेर्छु
हाम्रो सोचको चुरो नेपाल हो
नेपाल हेर्ने कोण÷प्रतिकोणहरु
फरक भए पनि
केही फरक पर्दैन
त्यसैले, आकलझुकल
तिम्रो लोकप्रिय पत्रिकामा
मेरो दृष्टिकोण पनि छाप है !
ठूलो कुरो त नेपाल हो
नेपालको माटो हो
यो माटोमा
तिमी वासमती विचार रोप
हिमालीहरु फापर रोप्छन्
पहाडीहरु कोदो रोप्छन्
मधेसीहरु धान रोप्छन्
र, म
यी सबै रोपाइँ र दाइँमा रमाएर
सहकालको सोरठी लेख्छु
तिम्रो पत्रिकामा सोरठीको भाका छाप है !