Last modified on 27 जुलाई 2020, at 17:44

चैतको साँझ / सुदीप पाख्रिन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:44, 27 जुलाई 2020 का अवतरण (Sirjanbindu ने चैतको साँझ / सुदीप पाख्रीन पृष्ठ चैतको साँझ / सुदीप पाख्रिन पर स्थानांतरित किया)

चैतको कुरूप भित्तामा
धुलिंदै लहराइरहेका गोधूलीका चित्रहरू
शोक–गीत भैं स्वाँ…. स्वाँ…. चलिरहेका
उराठिला मौसमका कोलाहलहरू
साँझ विरक्तिकै चुपचाप छ !
विरक्तिकै साँझ चुपचाप छ !!

सडक चिच्याउँदै छ
कानै चपाउने उग्र यान्त्रिक आवाजहरू
सडक छेउका दोकानहरू कराउँदै छन्
पपगीत/फिल्मीगीतका मस्तिष्कै पकाउने चर्का धूनहरु
साँझ उराठिंदै मौन छ !
उराठिंदै साँझ मौन छ !!

कृत्रिम हल्लाहरूले थिचेका
चराहरूका सङ्गीतहरू
एक्सपोज्ड बैँसहरूका
भारी बोकिरहेका फुटपाथहरू
साँझ उकुसमुकुसिंदै शान्त छ !
उकुसमुकुसिंदै साँझ शान्त छ !!

तेलकासा, डण्डीबियो, लुकामारी
बिर्सिसकेका बालक गल्लीहरू
राजकुमार दिक्पालका मिथहरु र लोरीहरू
थाती राखेका सुकुमार निश्चल निन्द्राहरू
साँझ अत्तालिंदै निस्तब्ध छ !
अत्तालिंदै साँझ निस्तब्ध छ !!

साँझ छ-
यादहरूका कोलाजहरू छन्
अनि
गजलहरूका धूनहरूको तापक्रममा
पग्लिरहेको छ साँझ- आँखाहरूबाट !
पग्लिरहेको छ- चैतको साँझ !