राधामिलाप / कृष्णप्रसाद शर्मा रेग्मी
राधा राधा भनी अधा-जीउ भे हरिको जय ।
सखी गयी र राधामा निवेदन गरी सब--
किन तिमि गरछयौ सखी ! विलम्व
अब सब छाड अगाडिको घमण्ड ।
हरि तिमि नभई भये विहाल
अनुपम यौवन यौ वृथा नफाल ।।२।।
प्रकट भइसक्यो वसन्त-काल
वरिपरि हेर विचित्र हाल-चाल ।
भुनुनुनु भ्रमरा घुमेर आये
ऋतुवरका सँग मित्रता लगाये ।।३।।
घडिघडि हरि खोजि गर्नुहुन्छ
तिमि नगये सखि कुञ्ज शून्य हुन्छ ।
प्रियसँग अभिमान गर्नु छैन
हरि नभई तिमिमा हुँदैन चैन ।।४।
हिंड अब सँग जाउँ छाड मान
उहि प्रियका हित्तकी मलाइ जान ।
तिमिकन परदैन केहि गाल
विनय ठुलो हरिको उसै नफाल ।।५।।
सुरुसुरु उहि जान लाज लागे
मसित अनी तिमि केहि अर्ति मागे ।
अलिअलि शरमायियेकि जस्ती
लिइ अभिमान निकुञ्जमा नपस्ती ।।६।।
तिमिकन जब डाकि लीनुहोला
तब सब यो अभिमान तोडियेला ।
जब हरि पहिरेर पीत बास
रसबस भै गरनूहुनेछ बात ।।७।।
तब तिमि रिस छाडि मस्त हौली
अति खुशिले हरिकासंगै बसौली ।
अझ पनि सुन कृष्णको सनेस
तिमि नभई बरु प्राण जानु वेश ।।८।।
मनमन त सँगालि मान ईख
बरु गर आइ सजाय पोखि रीस ।
इवि अघि रति रासको नलेऊ
प्रियतम संझि कसूर माफ देऊ ।।९।।
जति जति तिमिले यसो गरौली
उति उति यो मन चट्चटी चुँडौली ।
रत्तिभर मनमा नली घमण्ड
बरु अब आई मलाइ देउ दण्ड ।।१०।।
हरि यसरि वहाँ तिमी भनेर
विरह मनाउँदछन् दुखी बनेर ।
अनि पसि अनि निस्कि कुञ्जबाट
भइकन दिक्क निकालि लामु सास ।।११।।
हरि अनि कहिले थचक्क बस्छन्
विरह जमायर गान तान छाडछन् ।
अतिशय भइ चित्तभित्र बाधा
बचन निकासनुहुन्छ हाय ! राधा ।।१२।।
हरघडि मुखचन्द्र सम्झि बस्ता
हरि अब भैसकिये चकोर जस्ता ।
वन वन मुरली बजाइ घुम्छन
तिमिकन सम्झि उदास कृष्ण हुन्छन् ।।१३।।
किन प्रियकन शोकमा डुबाई
अति निठुरी भइ बस्तछयौ नजाई ।
अझ पनि तिमिमा दया उठेन ?
मनबिचको अभिमान त्यो छुटेन ? ।।१४।।
बुझ तिमि अनमोल यो छ चोला
बखत चुकेपछि थक्क थक्क होला ।
प्रियसँग जसको मिलाप छैन
उस युवतीकन छैन कत्ति चैन ।।१५।।
वय पनि तिमि पूर्ण छयौ भयेकी
हरितिरके किन रोष यो लियेकी ?
दलबिच जलबिन्दु झैं छ बैंस
बखत गुमेपछि ता हुँदैन ऐस ।।१६।।
रिस नगर खुशी भयेर जाऊ
अधर-सुधा-रस कृष्णमा पिलाऊ ।
जब हरि चुमनूहुनेछ गण्ड
अनि तिमिमा रहँदैन यो घमण्ड ।।१७।।
रसबस भइ प्रीतिमा भुलौली
अनुपम सौखमहाँ अनी परौली ।
नत प्रियसँग प्रीति क्यै जमायौ
लहलह बैस हरे ! उसै गुमायौ ।।१८।।
अब तिमि सब छाडिदेउ मान
हरि खुशि पारनमा लगाउ ध्यान ।
दिन वितिकन साँझ पर्न लाग्यो
गगनमहाँ पनि फैलियो तुवाँलो ।।१९।।
रविकिरण भयेर मन्द मन्द
गुँडतिर जान भनी उडे विहङ्ग ।
झटपट उठ निस्क जाउँ भाऊ
हरि विरही हुनुहुन्छ वेर् नलाऊ ।।
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)