अनौठो जोगी / विष्णु न्यौपाने
	
साँझ  नझर्दै   रात  नपर्दै
यौटा    जोगी   आइरहेछ ।
दयालु पनका चञ्चल मनका
मन्त्र   अनौठा   गाइरहेछ ।।
छाँट  अनौठो बात  अनौठो
कपटी मनको चाल अनौठो ।
हेर्दछ फर्की  चौसुर  घरका
के हो उदेश्य  आँट अनौठो ।।
लट्टा   दारी   वरपर  पारी 
एक्लै बोल्दछ  गुन्गुन  भाका ।
बस्तै  उठ्तै   छटपट  गर्दा
घुम्थे  फिर्फिर उसका आँखा ।।
क्यै दिन सहजै व्यतीत नहुँदै
पीडादायक   रात  सुसायो ।
हतियारैका   धार   मुसार्दै
मध्यरातमा  जोगी  उदायो ।।
थ्येनन् झोली ऊ सङ्ग आज
साथी सयौं  र बोरा  साथ ।
तोडेर   धर्म   मानवताको
दियो यातना  असहृयताको ।।
श्रद्धा भक्ति र अनौठो शक्ति
जोगी  शब्दमा नास  गराइ ।
कलङ्क  मात्रै  फैलन लाग्यो
नाटक  नौलो  पर्दा  हटाइ ।।
बाँधी  मेरा  हात  र खुट्टा
चाल्यो घरका  चोटा कोठा ।
यस्तै  रीतिले  रात भरमा
गरे  डकैती  सैयौं  घरमा ।।
ध्यान  अनौठो  ज्ञान  अनौठो
नवीन  युगको  दान  अनौठो ।
खोज्दो रहेछ कि जोगी मनले ?
नीच  धर्मको  कर्म  अनौठो ।।
 
	
	

