अहल्या / शारदा शर्मा
सुदूर कालदेखि
सुस्तरी
खामिँदै पत्रपत्र दुःखका
जम्दै
चट्टान बनेकी थिएँ
भरोसा मरिसकेको थियो सबैमाथि
मनभित्रको पत्थर-पीडा
फेरि बग्यो सलल्ल
राम।
म ब्यूँतें
जब तिमीले छोयौ।
मलाई छल गर्ने मान्छे
स्वर्गका राजा छन्
अप्सराले घेरिएका
शक्तिशाली
मदोन्मत्त
तिनलाई न पाप लाग्छ
न बात लाग्छ
कहिले ब्रह्महत्या
कहिले बलात्कार
महर्षिका संयममाथि समेत
निरन्तर धावा बोलेका बोल्यै छन्
किन कहिल्यै
झर्नुपर्दैन उनलाई?
रजोवती
हर महिना
म अछूत भएर चुक्ता गरिरहिछु
तिनको ब्रह्महत्या-दोषको एउटा अंश।
स्त्रीलुब्ध
शरीरभरि टाँसिएका
सहस्र योनीको श्रापदेखि जब सहर्ष मुक्त गरिए तिनी
र, म लाञ्छित नै रहेँ
किन राम?
यहीँ घुमिरहेछन् निर्भय
मलाई बलात्कार गर्नेहरू
मुद्दा हराउनेहरू
यहीँ छन्
बयान फेर्नेहरू
थचार्ने र उफार्नेहरू
तमासा बनेर
सबैका अपराधको कुटुरो एक्लै बोकेको
म पूजा,
अहल्याकी अद्यतन संस्करण
शक्तिको बौलाहा आँधीले निलेकी
म निर्मला
ढुङ्गा बनेर म अचेत सुतेको यो विकराल कालखण्ड
मैले पिएका अपमानका यी विषकुण्ड
हिसाब हुन्छ कि हुँदैन, मेरा बलिन्द्रधारा आँसुका यी सहस्र पोखरीको
राम।
म माथि
न्याय हुन्छ कि हुँदैन?
मुर्दा बनिसकेकी थिएँ
फेरि गुञ्जियो गीत
हृदय वीणामा तार सल्बलाए
जब तिमीले छोयौ
धन्य राम।
म उठें
जीवन त पाएँ मैले
तर खोइ,
मुक्ति कहाँ पाएँ?
कहिल्यै निको नहुने
घाउजस्तो नजिर बसाएर
तिमीले सीताको परीक्षा
किन लियौ राम?
०००
.......................................................
यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है