भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मान्छे हो! यिनलाई प्यार गर है / माधवप्रसाद घिमिरे

Kavita Kosh से
Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 15:07, 9 मार्च 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=माधवप्रसाद घिमिरे |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए
हेरी यी अनजानलाई उनका आँसू खसेका थिए
बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन्
हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्।
गाईलाई लग्यो नि ! आज कसले बाच्छो छुटाईकन
पाथी पाश परी मरी नि ! गुँडका बच्चा नहुर्कीकन
के हेर्छ्यौ यतिको बिजोग, धरती माता ! तिमी फाट
हे आमा बालककी नमार भगवन् ! संसार भर्ने भए।
हेर्छे शान्ति यताउती घरभरी आमा कतै देख्तिन
हेर्छे फेरि मलाई खालि मुखमा केही पनी बोल्दिन
"आमा ख्वै ?" भनि वेगले हृदयमा टाँसेर रोउँ कि म
अज्ञानी वय चारकी छ, टुहुरी पार्यौ विधाता, किन !
आमालाई रिंगेर कान्ति दिलको संसार जो घेर्दथी
आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी
सुत्छे आज रुँदारुँदै हृदयमै थाकेर औँलो चुसी
मेरो फस्किरहेछ हेर, मुटुको टुक्रा ! भुईँमा खसी।
मेरा चन्चल शान्ति कान्ति सुखले नाना र चाचा भनी
खेल्थे खलबल गर्दथे घरभरी रुन्थे फुलिन्थे अनि
यी हाास्थे जब फूल झैँ नजरको आँसू नसुक्तै पनि
ती धुन्थिन् दुधले मुहार यिनको त्यै आँसु पुछ्दै अनि।
पाकयो भात भनेर शान्ति उनकै सन्देश ली आउँथी
अड्डाबाट म फर्किएँ कि उनकै जाली कुरा लाउँथी
खाई म्वइ नचाइ कान्ति सुखले भन्थिन् मलाई उनी
"यस्तै सानु सधैँभरी रहिरहे कस्तो हुँदो हो !" भनी।
ती देखाउँदथिन् मलाई, कतिकी राम्री छ सानी भनी
ती गर्थिन् मनभित्र गर्व, बहुतै बाठी छ ठूली भनी
ती भन्थिन् कहिले त्यसै हजुरकी छोरी छ छुची भनी
ती रुन्थिन्, यिनलाई व्यर्थ अरुले हेला गरे रे भनी।
त्यो शृङ्गार र त्यो सुसार त्यो आधार सारा गए
आमा भन्नु गइन्, गयो हृदयको शोभा अँध्यारा भए
धूलमाथि बसेर काख उनकै ढुक्छन् यहाँ केवल
कुर्दछन् त्यै ममता र प्यार, कहिल्यै मेटिन्न है तल्तल।
यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनी
को हेर्ला अब हर्षसाथ– यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ– यिनले फुर्की नखेले पनि।
सानीलाई फुल्याउाला कति यहाँ औँलो चुसाईकन
ठूलीलाई भुलाउँला कति यहाँ आँसू लुकाईकन
आफैँ यो सब वज्रपात यिनले बुझ्लान् जसै आखिर
राऔँला अनि एक रात सँगमा हेरेर तारातिर।
यो लाम्चो भरिलो मुहार, उनकै बान्की छ यो कान्तिमा
चाँडै नै रिस उठ्छ मर्छ, उनकै बानी छ यो शान्तिमा
छन् छोरीहर गैसके पनि उनी, छाया यहाँ हेर्दछु
यी दोस्रा अवतार हुन् र उनको माया यहीँ गर्दछु।
धोको क्यै यिनको पुर्याउन भनी हिँड्दा कहीँ जोशमा
मैले भूल गरेँ भने भुवनका भाई ! गरे है क्षमा
कही गर्न नपाउँदै मरिगएँ आफैँ भने आखिर
खोजी यी टुहुरा, दयालु दुनियाँ, केही गरे है भर !
बेहानै यिनलाई एक चिडिया आएर बोलाउँछिन्
बारीमा यिनलाई एक पुतली आएर खेलाउँछिन्
छाया एक सँगै रहेर यिनको रक्षा सधैँ गर्दछिन्
मान्छे हो ! यिनलाई प्यार गर है तारा कुनै हेर्दछिन्।