यो सहर कसको हो ? / सुमन पोखरेल
बसाइँ सरेर आएका
सुन्दर कञ्चन गाउँहरू थुप्रिएर
प्रलयकारी बाढीजस्तो सहर बनिएको हेरिरहेको थिएँ।
धुले सडकमा खेल्दाखैल्दैको आफूलार्इ
हुर्किँदै गएका भवन र च्यातिँदै बढेका बाटाहरूबीच
टेक्नै डर लाग्ने समयमा उभिएर खोजिरहेको थिएँ।
थाह पाएदेखि
लगातार हिँडिरहेको आफ्नै सडकको पेटीमा
हराइरहेको मलार्इ
जीवनको मध्यान्हमा आएर
आकृतिविहीन कसैले थर्थर काँप्दै च्याप्प समायो र सोध्यो
यो सहर कसको हो?
पर पँधेरादेखि उठिआएका इन्द्रेनीहरू
मध्यरातको कृत्रिम उज्यालामा हराइरहेका हेरिरहेको छु।
क्षितिजतिरबाट प्रेमको गीत गाउँदै उडेका चराहरू
भ्रमको धुनमा नाचिरहेका हेरिरहेको छु।
हेरिरहेको छु,
शीतलताले मलार्इ छुँदै पसेको हावा
मध्य सहरमा डढेलो लगाएर मलार्इ घचेट्दै फर्कियो।
जीवन बाँड्दै हिँडेको पानी
सहर पसेर जीवनको बँगैचा मडारेर निस्कियो
बाहिर भेटिँदा साँच्चै मान्छेजस्तै लाग्ने मान्छेले पनि
सहरमा एउटा अमान्छे बेच्यो र आफू त्यसैमा विलीन भयो।
एक क्षण यस्तो लाग्छ,
निरन्तर गुन्जिरहेको गालीहरूको आँधीमा सामेल होऊँ
दायित्वबोधलार्इ फुकालेर नाङ्गिऊँ र
यही सहरको पानीले बनेको रगतको जोश
यसकै हावाले थेगिएको श्वासको आवेग
यसैले सिकाएको बोलीको कम्पन
झिकेर कराऊँ –
यो सहर भीडको अधबेस्रो नारामा नाच्नेहरूको हो,
मान्छे छोप्ने लेपनमा सुन्दरता देख्नेहरूको हो,
संवेदनहीनतालार्इ आदर्श बनाएर उँघिरहनेहरूको हो,
सपनामा बाँचेर विपनाभरि मरिरहनेहरूको हो,
हिँड्दाहिँड्दै आफैँलार्इ हराउनेहरूको हो,
बौलाहाहरूको हो।
यो सहर
जीवनको सङ्गीत बोकी गुराँसको हाँगाबाट उडेको डाँफेलार्इ
मन्दिरको गजुरमा चढाएर काग बनाउनेहरूको हो।
र्इश्वरलार्इ बृद्धाश्रममा छोडेर घर फर्की
टेलिभिजनमा खोज्नेहरूको हो।
मान्छेको बच्चो फोहरको कन्टेनरमा फ्याली
कुकुरलार्इ दूध चुसाउनेहरूको हो।
यसको कुरूपताको वेदनाले निचोरिएको मन बोकी
जीवनको आधी नाङ्लो समयलार्इ केलाएर हेर्दा, तर
म,
आफूलार्इ र यस सहरलार्इ एकै दृष्टिपटलमा देखिरहेको छु ।
यो सहर मेरा उद्वेगहरूलार्इ
आफ्ना बितृष्णासँगै पिएर हाँसेको छ,
मेरा अपूर्ण रहरहरूलार्इ खेलाएर हुर्किएको छ,
मेरो प्रेमकथाका सुन्दर सपनाहरू ओढेर निदाएको छ,
मेरो विद्रोहको जुलुस बोकेर ब्यूँझिएको छ।
यस सहरका धूला र धूँवालार्इ मैले घरसम्म ल्याएर
अनुहार र लुगासँगै धोएको छु,
यसका कर्कश स्वरहरूलार्इ टिपेर ल्यार्इ
केलाएर आफ्ना गीतमा कुँदेको छु
यसका विक्षिप्त दृश्यहरू बटुलेर आफ्ना कवितालार्इ सिँगारेको छु,
यसकै सुस्केरा उनेर आफ्नो जीवनको धुन बुनेको छु।
यसका तमाम गुणदोषको जिम्मा लिँदै,
म भन्छु,
यो सहर मेरो हो।