शिरमा भारी बोकेर
हातमा लालटिन लिएर
हिँडिरैँछ सान्नानी
पहाडको त्यो बाटो
उकालै–उकालो,
लालटिनको उज्यालोले चिरिरहेछ अन्धकार
दरिला छन् पाइलाहरू चम्किरहेछ अनुहार
कालो रात गएर
आउँछ भोलि बिहानी
सोचिरै’छ सान्नानी
फेरि पूर्व खुलेर
उज्यालै–उज्यालो,
मोतिजस्ता पसिनाको हार बनेको गलामा
बाटो आफैँ काँध थाप्छ पाइला चाल्ने बेलामा
झुप्रो घर सम्झेर
मन दह्रो गरेर
सम्झीसम्झी बाबाको
धुजाधुजा टोपी र
फाटेको कठालो
हिँडिरै’छ सान्नानी
उकालै–उकालो