भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
नाममा के छ र ? / मनप्रसाद सुब्बा
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:45, 16 मार्च 2017 का अवतरण
नाममा के छ र ?
सब थोक !
हेर न, हरेक शब्दमा नामै त नाचिरहेछ ।
नत्र त अचेतनताको अन्धकार फैलिरहनेथ्यो ..
नामहरू थुपारेर खेलिरहन्छ चेतना
र हामीलाई दिन्छ
यौटा यौटा अनुहार अनि जिब्रो ।
सुन त,
शब्दकोशभित्र एकएक शब्द नामकै सासले ढुकढुकाइरहेछ
अनि नामधारी ती शब्दहरू
हाम्रो मन-मस्तिष्कमा नाचिरहन्छ ।
सुन्दैछौ ?
नाममै गुन्जिरहेछ ईश्वरको हुनु पनि ।
स्पेसटाइमबाट जन्मेर
नामले पाएकोछ पुर्ख्यौली सम्पत्ति यौटा सानो विन्दु .
जहाँबाट रेखा निस्किरहन्छ अनेक आकृतिहरुका अवतार लिई ---
के तिमी साँच्चै यौटा नाम हौ त ?
त्यसो भए
देश ढुकढुकाइरहेको स्पेसटाइममा
तिम्रो आफ्नै विन्दु भेट्टाऊ ..
ओ कवि !
नाममा के पो छैन र !