भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उ इश्वर फूटाइरहन्छे / सीमा आभास

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:35, 28 अप्रैल 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

जून–घामलाई नानीको बाउ भनेपछि
अपराधीलाई झैँ घरबाट निकालिएकी
गाउँबाट विस्थापित ऊ
नदीकिनारमा ताराहरु जम्मा पारेर
गट्टा खेलाउँछे नानीलाई
पानी खुवाउँछे जूनको कचौराबाट
सूर्यमण्डल बनाउँछे उसले खेल्ने भकुन्डोलाई ।

नानीकै मुहारबाट उदाउँछ घाम
ऊ रुँदा होस् या खुसी हुँदा
बन्छन् देवताका हजार रूप ।

पहिलो पटक
कुन कालिगढले कुँद्यो होला भगवान् ?
कुन भक्तले, कुन मितिमा, चढायो होला फूल ?
कसले राख्यो होला चुपचाप बस्नू भनेर मन्दिरमा ?
 
बालक चन्द्रमालाई छातीमा टाँसेर सोध्छे,
यो पत्थरमा लुक्ने भगवान्
कहिलेसम्म बाँचिरहन्छ, मान्छेको शरणमा ?

सलसली हुर्किरहेको यस जूनलाई
बादलको मजेत्रो ओढाएर
इन्द्रेणीले पिठ्यूँमा बाँधेर
घामको डल्लो फुटाउन हम्मर उचाल्छे
हम्मरले फुटाएका पसिनाका बुँदहरु जमाएर
गिट्टी बनाउँछे ।

गिट्टीकै आकारजत्रा ठेला हत्केलामा उठाएर
मन्दिर बनाइने ढुङ्गा
रोसी थाकेर बगरमै छोडिएका ढुङ्गा
भगवान् पुजिने अनेकौँ ढुङ्गा
गिट्टी बनाएपछि
यो निर्जन दुनियाँ भन्ने गर्छ
ऊ ईश्वर फुटाइरहन्छे ।