आक्रान्ता रहर बोक्छ / सुमन पोखरेल
आक्रान्ता रहर बोक्छ
कहाँकहाँ दुख्यो होला
कताकता घोच्यो होला ?
म
निष्ठुर भई
निस्केको छु यात्रामा
आक्रान्ताझैं,
जो
छोडेको ठाउँलाई पिरोल्छ
टेकेको ठाउँलाई पनि पिरोल्छ ।
कहिलेसम्म हो ?
कहाँसम्म हो ?
मेरो पिरोलाइको यो जीवनयात्रा ?
तिमीले चाह्यौ, तिमीले पाइनौ
तिमीले खोज्यौ, तिमीले भेटिनौ
सायद, रोयौ कतै कुनामा ।
त्यसको के नै अर्थ छ र!
कि तिम्रा आँखामा मेरा पनि आँशु थिएँ
तिम्रा घाउहरूमा मेरा पनि अङ्ग थिए;
जब म
आक्रान्ता भै लुटिरहेछु
आफूलाई, समयलाई र जीवनलाई,
एउटा अप्रिय कालखण्ड भएर
च्यातिरहेछु मिलनका पलहरूलाई ।
दिनदिनै
छोटिँदैछ मैले बिसाउने समय
पलपल गिँडिदैँछन्
मैले तिम्रा आँशु पुछने साँझहरू ।
तिम्रा आँखामा मुस्कानहरू
र तिम्रा ओठमा खुशीहरू
तर
सँधै मेरो रहर मात्र बनेको छ ।