अतीत / एम. गोपालकृष्ण अडिगा / सुमन पोखरेल
मेरी आमालाई
दूधले भरिएको स्तन प्रदान गरेकामा
र मलाई भोको मुख दिएकामा
ढोग्दछु म ईश्वरलाई;
मभित्र उन्नत वक्षको चाहना जगाइराखिदिए पनि ।
इन्द्रेणीलाई
रातो मात्र हैन
हरियो, पहेँलो र सुन्तलेसमेत
अलगअलग सात रङ्ग
र मलाई
आश्चार्य मान्ने आँखा दिएकोमा
ढोग्दछु म ईश्वरलाई ।
म ढोग्दछु ईश्वरलाई
मलाई सघाएकोमा
र आफू टाढै बसेकोमा ।
मलाई गोडा दिएकोमा
र जङ्गलमा मेरो बाटो हराइदिएकोमा ।
र आकाशभरि
मेरा हात पुग्ने ठाउँमा
फलफूल नराखिदिए पनि
मेरा गोडामुनि उर्वर माटो
राखिदिएकोमा।
म ढोग्दछु ईश्वरलाई
ठोक्ने र फुटाउने घनका लागि
आकार खोप्ने छिनोका लागि
उखु पेलेर रस निकाल्ने कोलका लागि
र थोरै भए पनि
सामान तान्ने अङ्कुसे र उड्ने रकेटका लागि।
आनन्द र जीवनको निरन्तरताका लागि
कोमल योनीभित्र
ठाउँ दिएकामा र
शरीरको नालीभित्र
लिङ्गको
दृढ खाँबोको टेको दिएकामा
ढोग्दछु म ईश्वरलाई ।
धडकनहरूका बीच मात्र नभएर
एक्लो अन्नको टुप्पोमा समेत
स्पन्ददनरत अङ्कुर दिएकामा, र
प्रत्येक अन्तरात्मालाई
एकएक आत्मलिङ्ग दिएकामा
ढोग्दछु म ईश्वरलाई।
बाघका लागि मृग दिएकामा
ब्वाँसाका लागि भेडा दिएकामा
र मान्छेका लागि मान्छे दिएकामा
ढोग्दछु म ईश्वरलाई ।
शासकलाई थेत्तरोपन दिएकामा
मजदुरलाई पसिना दिएकामा
पलायनवादीलाई अस्वीकारको मदिरा
र कविलाई
शक्तिले भरिएका नपुंसक शब्द दिएकामा ।
म ईश्वरलाई ढोग्दछु
सृष्टीका सारा प्राणीमध्ये
केवल मान्छेलाई मुस्कान दिएकामा
र अनेक खाले मुस्कान दिएकामा;
उक्लिनका लागि भर्याङ् दिएकामा
र डसिनका लागि सर्प दिएकामा;
झगडा गर्नका लागि असख्य कारणहरू दिएकामा,
अन्त्यमा गएर मोहभङ्ग गराइ दिएकामा
र रहस्यमयी मृत्यु दिएकामा ।
मलाई
आफैँलाई सर्वज्ञ ठान्ने
र ईश्वर हुँदै हुँदैन भन्ने दारुण तर्क गर्ने
र एक्लो हुँदा अधीर भएर उसैलाई सम्झिरहने
र दृढ आत्मसम्मानका साथ
अनवरत सङ्घर्ष गरिरहने
मति दिएकोमा,
विशेषरूपले ढोग्दछु म ईश्वरलाई।