ऊ शान्त थियो, र म पनि / महमुद दरविस / सुमन पोखरेल
ऊ शान्त थियो,
र म पनि।
उसले कागतीचिया खायो,
मैले कफी खाएँ।
(हामी बीचको भिन्नता यही नै मात्र हो)
उसले, मैले नै जसरी खुकुलो धर्के कमेज लगाएको थियो,
र म उसकै जसरी एउटा मासिक पत्रिका हेरिरहेको थिएँ।
मैले उसलाई पुलुक्क हेर्दा उसले मलाई हेरेन,
उसले मलाई हेर्दा, मैले उसलाई हेरिनँ।
ऊ शान्त थियो,
र म पनि।
उसले वेटरसँग केही खानेकुरा मगायो,
मैले वेटरसँग केही खानेकुरा मगाएँ।
एउटा कालो बिरालो हाम्रा बीचबाट हिँड्यो,
र मैले त्यसका भुत्लाको अँध्यारोपनलाई छोएँ
उसले त्यसका भुत्लाको अँध्यारोपनलाई छोयो।
मैले उसलाई भनिनँ - आज आकाश खुलेको छ
सधैँभन्दा ज्यादा नीलो भएर।
उसले मलाई भनेन- आज आकाश खुलेको छ।
ऊ दृष्य र दर्शक दुबै भएको थियो
म दृष्य र दर्शक दुबै भएको थिएँ।
मैले आफ्नो देब्रे गोडो चलाएँ,
उसले आफ्नो दाहिने गोडो चलायो।
मैले एउटा गीत गुनगुनाएँ,
उसले एउटा गीत गुनगुनायो।
मलाई छक्क लाग्यो-
के ऊ ऐना हो, जसमा म आफैँलाई देखिरहेको छु?
र मैले उसका आँखामा हेरेँ, तर उसलाई देखिनँ मैले।
म हतारहतार बाहिर निस्किएँ कफी पसलबाट ।
सोचेँ - ऊ एउटा हत्यारा हुनसक्छ,
वा केवल बाटो हिँडने एउटा साधारण मान्छे हुनसक्छ
र हुनसक्छ, म नै एउटा हत्यारा हुँ।
………………………………………………………………………
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ