लड बीरबहादुर ! तिमी लड !! / विकाश गोतामे
स्वतन्त्रताको उन्नतीस वर्षपछि जन्मेर
तैले यसो भन्न सोभा दिदैन मेरो छोरा
कि मैले खून खराबी किन गरिन !
सायद त सोच्छ्स होला तेरो बाबु कुनै जमानाको बादशाह थियो
सायद तेरो विश्वास होला तेरो पिता-पुर्खासित थुप्रै धन सम्पति थियो
तर मेरो छोरा !
त मेरो यति भनाई त सत्य मान कि
तेरा आमा बाबु त्यस जमानामा पनि दलित र शोषित थिए,
तिनीहरू गरीब थिए,
तिनीहरू भोका थिए,
पिठ्युमा गर्हो भारी बोक्थे
र प्रत्येक साझ अलिकति पानी पिएर सूत्थे |
त विश्वास गर कि
मैले पनि ऋण काडनु परेको थियो जिन्दगीमा धोतीको लागि
मैले पनि संघर्ष गर्नु परेको थियो सिर्फ दुई जुन रोटीको लागि
अशोकको शान्तिमय राजत्वकालम जन्म लिएर
हर्षबर्धनको समयमा बड़ेका यी हातहरूले
तब कसरी खून खराबी गर्न शक्थे !
कृष्ण,येशु र मोहम्मद
बुद्ध,महावीर र गोविन्द
घरि घरि जन्मेर यही भन्दै गएका छन्
कि तेरो हात घाटी निमोठनका लागि होइन
तेरो हात हत्या गर्नका लागि होइन
तर तेरो हात शान्तिको लागि हो |
मैले उसलाई मारिन – उ क्राइष्टको सन्तान थियो
मैले उसको हत्या गरिन – उ मुहम्मदको कुटुम्ब थियो
मैले उसको हत्या गरिन – उ बुद्धको सपना थियो
मैले उसको ज्यान मारिन – उ कृष्णको कल्पना थियो |
तब त नै विचार गर मेरो छोरा !
कि तेरो यों गरीब पिता एक ईस्वरको खून कसरी गर्न सक्थ्यो !
तेरो गरिब पिताको सोंचाइमा
प्रत्येक मान्छे भगवान सिवाय
अरू को हुन सक्थ्यो !
यसैले मैले उनीहरूमाथि आक्रमण गरिन
उनीहरूमाथि मैले हतियार उठाइन
ज्यान दिए तर ज्यान लिइन
प्राण दिए तर अभिमान गरिन
तब फेरि स्वतन्त्रताको उन्नतीस वर्षपछि जन्मेर
यों नभन्नू मेरो छोरा
कि मैले खून खराबी किन गरिनँ ?