आफैलाई खोजिरहनुको उत्सुकताको पछि
गुमाउँदै जानुको चिसो विवशताले पीडित मेरो मुटु
खै, आज कविता सोच्नै मान्दैन,
सायद त्यसैले होला सुनगाभा ।
तिम्रो मुस्कानभन्दा मेरा आँखामा यसबेला
ती वृद्ध सज्जनको मलिन अनुहार खेलिरहेछ
जो घण्टौँ एउटा लामो क्यूमा उभिएर पनि हिजो साँझ
मट्टितेलको रित्तो भाँडो हल्लाउँदै घर फर्किरहेका थिए,
जाती हुन्थ्यो बरु म कवि नभएर
त्यही रित्तो भाँडोभरि मट्टितेल हुन सकेको भए,
मेरो देशको एउटा घरमा एक रात एक छाक बल्न सक्थेँ
एउटा वृद्धको खिन्न अनुहार केही क्षण उज्यालो पार्न सक्थेँ
तर सुनगाभा ।
मेरो देशको कुनै समस्या पनि टार्न नसक्ने म कवि भएँ
— जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्रयो।
०००
................................................
यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।