नदीसँगै बग्ने नदी थिएँ
गतिशील छाल - तरङ - बहाव थिएँ !
नअस्ताउँने घाम
झिल्मिल इन्द्रेणी
पूर्णिमाको जून थिएँ !
वर्षायामको घनघोर वर्षा
हुरी / बतास र / तेज आँधी थिएँ !
सपना देख्ने आँखा थिएँ
भाव बुझ्ने हृदय
र प्रेम सम्झिने मस्तिष्क थिएँ !
फुलसँगै फुल्ने कोमल फुल थिएँ
पवित्र - नरम - स्निग्ध भावना थिएँ !
बोध थिएँ
बोधहरूको बोधार्थ थिएँ
पदहिन पदार्थ थिएँ
शब्दहरूको शब्दार्थ थिएँ !
अर्थहरूको अर्थ र चेतनाहरूको चेतना थिएँ !
के मात्रै थिइनँ र म त्यतिबेला -
वेगहरूको आवेग थिएँ
आवेगहरूको वेग थिएँ !
रङ्गहरूको रङ्ग थिएँ
उन्मादहरूको उमंग थिएँ !
अबोध - चञ्चल - एउटा मानिस थिएँ !
अहिले पो उदास पहाड भएँ
अहिले पो उजाड मौसम भएँ !
कुनैबेला म पनि एउटा प्रेमी थिएँ !
०००