भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अरूभन्दा बेग्लै कोही / फरोग फारुख्जाद / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मैले कोही आइरहेको सपना देखेँ।
मैले एउटा रातो ताराको सपना देखेँ।
मेरा आँखा फुर्फुराउन थाले
मेरा गोडा लरखराउन थाले।
मैले ढाँटेकी भए मरी जाऊँ,
अन्धी भै जाऊँ;
साँच्चै मैले
ब्यूँझै, त्यो रातो ताराको सपना देखेँ।
 
एकजना कोही आउँदैछ
एकजना नौलो कोही आउँदैछ
अरूभन्दा असल एकजना कोही आउँदैछ।
बाजस्तो हैन,
एन्सीजस्तो हैन, याह्याजस्तो पनि हैन
र आमाजस्तो पनि हैन,
सबैभन्दा अलग कोही आउँदैछ।
 
जस्तो हुनुपर्थ्यो त्यस्तै एकजना कोही आउँदैछ,
जो मामारको बारीको रूखभन्दा पनि अग्लो छ
जसको मुहार बार्हौँ इमामको भन्दा पनि ओजस्वी छ,
जो सैनिकको पोसाक लगाउने सइद जावेदको भाइसँग पनि डराउँदैन
अरू त अरू, ऊ
हाम्रो घरका सबै कोठाहरूमा एकछत्त अधिकार रहेको
र हाम्री आमाले हरेक पूजापछि नबिर्सिकन अर्चना गर्नु हुने
स्वयम् सइद जावेदसँग पनि डराउँदैन।
ए, समस्त न्यायदाताहरूका न्यायकर्ता!
ए सारा विश्वका परिचालक!
ऊ तीन कक्षाका किताबका तमाम अफ्ट्यारा शब्दहरू आँखा चिम्लेरै भन्न सक्दछ
ऊ दुई करोडबाट एक हजार सजिलैसँग घटाउन सक्दछ,
ऊ सइद जावेदको दोकानबाट मनपरेको जेसुकै पनि लिन सक्दछ।
र ऊ ‘अल्लाह’को चिन्हलाई
मोफ्तायन मस्जिदमाथिको आकाशमा मिर्मिरे बिहानझैँ हरियो रङ्गमा फेरि चम्काउन सक्छ।
 
अहो...
कत्ति चम्किलो उज्यालो
कत्ति प्रदीप्त प्रकाश!
 
म हृदयदेखि चाहन्छु,
याह्याको आफ्नै एउटा ठेला होस्
आफ्नै एउटा लालटिन होस्
र म याह्याको ठेलामा तरबुजाहरू बीच बसेर
मोहमदियान चोक घुम्न जाऊँ।
 
अहो...
चोक वरिपरि घुम्दा कत्ति रमाइलो हुँदो हो!
छानामाथि उत्तानो परेर पल्टिँदा कत्ति मज्जा हुँदो हो!
पेप्सीकोला सुरूप्प पार्दा कत्ति आनन्द आउँदो हो!
फर्दिनले खेलेको सिनेमा हेर्दा कत्ति रमाइलो हुँदो हो!
यी सबै गर्न पाए म कत्ति बिघ्न रमाउनेथेँ होला!
म साहिद जावेदकी छोरीको कपाल भुत्ल्याउने थिएँ होला।
किन म बाटैमा हराउने गरीकी सानी छु?
बुवा बाटामा नहराउने ठूलो भएर पनि
मैले सपनामा देखेकाको स्वागतको लागि
किन केही पनि गर्नुहुन्न?
 
र ऊ, त्यहाँका मासु काटनेहरू,
जसका आँगनका फूलका कोपिलासमेत रक्ताम्य छन्
जसका जुत्ताका तलुवाहरू रक्ताम्य छन्
तिनीहरू किन त्यति सारो निष्कृय बसेका?
 
 ***
 
यो हिउँदे घाम कति बिघ्न अल्छी भएको?
 
 ***
 
मैले भर्याङ्देखि छानासम्म बढरिसकेँ
मैले झ्यालका खापाहरू पखालिसकेँ
बुवा किन सुतेका बेलामा मात्र सपना देख्नु हुन्छ?
 
 ***
 
मैले छानो बढारेँ
झ्यालका खापाहरू पखालेँ।
कोही आउँदैछ।
हृदयदेखिनै आफ्नो
हाम्रै मनको बोली बोल्ने कोही आउँदैछ।
जसलाई, अपराधीलाईझैँ पक्रन सक्दैन कसैले
कसैले हतकडी लगाएर जेल हाल्न सक्दैन।
जसले याह्याको घर पर्तिर, बुढो रूखमुनी
हरेक दिन हुर्किरहने एउटा बालक जन्माएको छ।
 
ऊ आउनेछ
झमझम परेको पानीका बीचबाट
यो बर्सादकाबीचबाट
घन्टीफूलको गुनगुनाहट बीचबाट
साँझमा तोपखाना चोकमा नाचिरहेका फूलझरीका झर्नाहरूका बीचबाट।
 
र लुगाहरू बाँड्नेछ,
खानेकुराहरू बाँड्नेछ,
पेप्सीकोला बाँड्नेछ,
सिटी पार्क बाँड्नेछ,
लहरे खोकीको दबाइ बाँड्नेछ,
स्कूल भर्ना हुने अवसरहरू बाँड्नेछ,
अस्पतालमा पालो पर्खिने ठाउँहरू बाँड्नेछ,
रबरका जुत्ताहरू बाँड्नेछ,
फर्दिनले खेलेका सिनेमाका टिकटहरू बाँड्नेछ,
साहिद जावेदकी छोरीका लुगाहरू बाँड्नेछ।
 
उसले किनबेच नहुने सबैथोक बाँड्नेछ
र हामीलाई
आ-आफ्नो भाग दिनेछ।
 
मैले एउटा सपना देखेँ।


इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ