रगत सिँच्नेहरू - २ / रेमिका थापा
डोको घोप्टाएर हामीले कहिले
कञ्चनजङ्घा हेर्ने गरेका थियौं र
तिमीले कङक्रिटको अग्लो-अग्लो जङ्गल बनायौ।
तिम्रो वार्षिक बजटमा परेको
असङ्ख्य बेरोजगार
असङ्ख्य दलाल
असङ्ख्य भट्टीपसलहरूको परियोजना ।
असङ्ख्यपल्ट टालटुल र छोपछाप पार्दै नङ्गाइएको
कहिल्यै राजधानी नपुग्ने राजमार्गको किनारै - किनार
असङ्ख्य गोसखानहरूको शिलान्यास
बाबुलाई ढोँगी र रक्स्याहा
छोरालाई बेकार र नपुंसक
आमालाई महँगो घरेलु दुर्घटनाहरू !
घिच्रोमा हलो र जुवा
शिरमा सधैँ विकासको चुनावी एजेण्डा ।
सूर्योदय छेकिएर नीलकण्ठ उभेको छ कञ्चनजङ्घा
कस्तो बीभत्स दृश्य हुँदोरहेछ
आफूले जन्मा'को मर्द छोराले
अनायास हिजडा हुनुपर्दा !
झुल्केको घामलाई हामीले कहिले हत्केलाले
छेक्नुपरेको थियो र ?
तिमीले हाम्रो हड्डीहरूको थुप्रोमा
क्षेत्रीय प्रकल्पको मरूभूमि बनायौ !
कङ्क्रिटको जङ्गल पस्न कसले हेर्छ कञ्चनजङ्घा !
मान्छेको रगतको हिमपात सहन कसले हेर्छ कञ्चनजङ्घा !