भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
सृष्टिको दियो / पोषण पाण्डे
Kavita Kosh से
लडाइँ त देव–दानवको थियो
लडाइँ त समुद्र–मन्थनको थियो
लडाइँ त अमृत–हलाहलको थियो।
किन त्यो फिरन्ताले
जानाजान
हलाहलजति सप्पै आफैले पिउनुपरेको... ?
किन त्यो फिरन्ताले
डाह खप्न नसकी
पहाडको टुप्पा–टुप्पा भौँतारिनुपरेको... ?
किन उसले नाङ्गिनुपरेको
त्यतिका जवाहरातले जडेका
तासका पोसाकहरू छँदाछँदै पनि... ?
ल हेर—
अहिलेसम्म पनि मानिसहरू
उसको माथमा
घडाका घडा पानी चढाउँदैछन्—
“हरहर महादेव
हरहर...”
तर, के उसको डाह शान्त नहुन्जेल
सृष्टिको दियो बलिरहनेछ त ?