धाँजो परेपछि / उमेश लुइटेल
बिहानी यस्तरी उदायो उमेश लुइटेल
शीत छरिए झैँ
आँसु छरियो पातपातमा ।
क्रोधी हावाका सिठ्ठीहरु
घात नचाउँदै बजे
हावा सिर्फ बह्यो
स्पर्श गरेन ।
मनको एकान्त प्रदेशमा
निर्जनताका धुन उब्जिए
चूर्णित आशहरु
काँडेबारमा रोपिँदै ढुङ्गे भित्तामा बज्रिए
दलदलमा सुखका स्मृति बटुल्दा बटुल्दै
हराए हार्दिकताका लालीगुराँसहरु ।
अनियन्त्रित वायुले
माथि/तल तरङग्यायो वर्तमानलार्इ
परिणाममा सन्नाटका मूर्तिहरु राखेर यत्रतत्र
ध्रुवतारा झैँ एक्लियो समय ।
हर्ष हिउँ जस्तै जमेपछि
कालो पर्दा ओढेर मनको झ्याल
जडमा परिवर्तित हुँदै
केवल तमासा भैरह्यो ।
उज्यालोको प्रतीक्षामा व्यग्र मुटु
अँध्यारोको छाता ओढ्दै
मूर्तिवत् ठडिरह्यो ।
भोलि र भविष्य डामियो
तातो फलामबाट ।
स्नेह बन्दी हुँदै
सन्देहमा ढुकढुकीयो
अविरल विषाक्त विकिरण थापेर थाप्लामा
उल्लासको क्रिस्टल चालरहित निर्जीव भैरह्यो ।