Last modified on 8 मई 2017, at 16:45

नेपाली जनता / विवश पोखरेल

कतैकेही हराएजस्तो
कता–कता
आफू आफैसँग डराएजस्तो
तपाईंकै देशको—
नागरिकजस्तो लाग्ने
एउटा अनुहार
भर्खरै गाउँबाट सहर पसेको छ
नडराउनुहोला—
ऊ विरोध बोल्दैन
बोल्नै नसक्ने गरी उसको जिब्रोमा
दुर्भाग्यको कालो सर्पले डसेको छ
तपाईं अवश्य चिन्नुहुन्छ
सम्भवतः ऊ—
तपाईंकै प्रतिचित्र हो
जो—
विश्वासको चौतारीमा अझै
आश्वासनको छाता ओढेर बसेको छ ।